Shittalpati
विद्यालयमै उपचार सेवा

कृष्ण पोखरेल
पाल्पा, विद्यालय समयमा सामान्य टाउको, पेट दुख्ने, ज्वरो आउने समस्याले विद्यार्थी तथा शिक्षकलाई सधैं पिरोल्दा कक्षा छाडेर उपचारका लागि स्थानीय औषधी पसल तथा तानसेनका ठूला अस्पताल जानुपर्ने बाध्यता थियो । उपचारका अभावमा विद्यार्थीहरु नियमित हुन नसकिरहेका बेला पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको एक विद्यालयमा भने नर्ससहितको सेवा दिइएको छ । विद्यार्थीलाई स्वास्थ्य सेवा सहज रुपमा विद्यालय हाताभित्र उपलब्ध गराउने उद्देश्यले रैनादेवी छहरा –४ मा रहेको भैरव नवदिप माध्यमिक विद्यालयमा उपचार सेवा दिइएको हो ।

बालबालिकाकाले अध्ययनकै समयमा विरामी हँुदा विद्यालयमै स्वास्थ उपचार सेवा पाएपछि पठन–पाठन समेत नियमित बनेको छ । २०७९ साल भदौ महिनादेखि विद्यार्थीहरुले विद्यालयमै उपचार सेवा पाउँदै आएका छन् । विद्यालयमा स्वास्थयकर्मीबाट नै नियमित रुपमा चेकजाँच सहित औषधी उपचार सेवाले विद्यार्थीहरु ढुक्कसँग विद्यालय आउने जाने गरेका छन् । गाउँपालिकाले पहिलो चरणमा भैरव नवदीप माविमा विद्यालय नर्सिङ कार्यक्रम लागु गरेपछि विद्यार्थीले कक्षा कोठामा उपचार सुविधा पाएका हुन् । केही दिन अघि विद्यालयमा अध्ययन कै क्रममा रामबहादुर थापालाई एक्कासी ज्वरो आयो, टाउको दुख्यो, थापाले कक्षा कोठामा बसेर पढ्न सकेनन् साथीहरुको सहयोगमा उनलाई तत्कालै विद्यालयको नर्सिङ कक्षा कोठामा लगियो र उपचारकक्षको बेडमा सुताईयो । उनलाई नर्स श्रृष्टि कार्कीले थर्माेमिटरले ज्वरो नापिन् । ब्लड प्रेसर चेक गरिन् । विद्यार्थी थापालाई एक सय डिग्री ज्वरो आएको थियो । नर्स कार्कीले विरामी विद्यार्थीलाई दवाई खुवाईन् र पुनः वेडमा सुताइन् । केही समयपछि उनी सन्चो भएर घर फर्किए । उनी मात्र होइन अहिले विद्यालयमा विरामी हुने अधिकांश विद्यार्थीहरुको उपचार भइरहेको छ ।

विद्यालयमा नर्स कर्मचारी भर्ना भएपछि विद्यालयका विद्यार्थीदेखी शिक्षकसम्म लाभान्वित भएका छन् । विद्यालयमा विरामी भएका विद्यार्थीहरुलाई नर्सले नियमित रुपमा उपचार गर्दै मनोपरामर्श दिदै आएकी छन् । गत भदौ महिनादेखि विद्यालयमा नर्स कार्यक्रम शुरु भएपछि बालबालिकाहरुले विद्यालयमै प्राथमिक उपचार पाउँदै आएका छन् । रुघा, खोकी, ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने, घाउँ खटिरा, चोटपटक लागेकाहरुको उपचार गरिदै आइएको श्रृष्टि कार्कीले बताइन् । विद्यालयमा दैनिक चारदेखि दश जनासम्म विद्यार्थी केही न केही स्वास्थ्य समस्या लिएर आउने गरेको विद्यालयकी नर्सले बताईन् । उनले भनिन् ‘विद्यालयमा उपचार गर्न आउने सबै विद्यार्थीहरुको रेकड फाईल राख्दै आएका छौं ।’

विद्यालयमा यस अघि रेडक्रसबाट सामान्य किसिमको घाउ चोट लागेमा उपचार गर्ने व्यवस्था रहे पनि अहिले गाउँपालिकाको सहयोगमा सञ्चालन भएको विद्यालय नर्स कार्यक्रम प्रभावकारी बन्दै गएको छ । विद्यार्थीहरुले कक्षाकोठामै उपचार सेवा पाए पनि व्यवस्थित उपचारका लागि अझै पूर्वाधार तथा उपकरणहरुको विस्तार गर्दै जानुपर्ने विद्यालयका सूचना अधिकारी दामोदर घिमिरेले बताए । विद्यालय नर्स उपचार कार्यक्रमबाट अहिलेसम्म ५ सय ५० भन्दा विद्यार्थीहरुले उपचार सेवा पाएका छन् । दिनहँु चार, पाँच जना विद्यार्थीहरु केही न केही स्वास्थ्य समस्या लिएर विद्यालय नर्स समक्ष आउने गरेका छन् । विद्यालय नर्स कार्यक्रमबाट विद्यार्थीहरु नियमित रुपमा विद्यालय आउने, जटिल स्वास्थ्य समस्या देखिए विद्यालयले स्तरीय स्वास्थ्य संस्थामा रिफर गर्दै आएको प्रधानाध्यापक झलकबहादुर रायमाझीले बताए । यो कार्यक्रमबाट विद्यार्थीहरु ढुक्कले विद्यालय आउने गरेको, विद्यालयमा ड्रप आउटको समस्या हट्दै गएको प्रधानाध्यापक रायमाझीले बताए ।

रैनादेवी छहरा गाउँपालिकाले नमुनाको रुपमा लागु गरेको विद्यालय नर्स कार्यक्रम प्रभावकारी बनाउँदै लैजाने र आउँदो पाँच बर्ष भित्रै पालिकाको सबै मावि विद्यालयमा पु¥याउने जनाएको छ । पालिकाले शुरु गरेको नर्स कार्यक्रमको नियमित रुपमा अनुगमन गर्दै आएको र आवश्यकताको आधारमा भौतिक पूर्वाधार, उपकरण तथा औषधीको व्यवस्थापन थप गर्दै जाने गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराईले बताए । स्थानीय सरकारबाट अधिकाश रकम भौतिक पूर्वाधारमा मात्र खर्चिएको समयमा गाउँपालिकाले विद्यालय स्वास्थ्य क्षेत्रमा लगानी शुरु गरेको छ । यो कार्यक्रमले विद्यालयको स्वास्थ्य तथा शिक्षामा सुधार आउने, बालबालिकाको कक्षा छोड्ने समस्या हट्ने विश्वास पालिकाले लिएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update