प्रत्येक वर्ष ३ मे लाई अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिएको छ । आज पनि नेपालसहित विश्वभर यो दिवस मनाइँदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विण्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा प्रेस स्वतन्त्रता दिवस मनाउने गरिन्छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विण्डहक शहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको थियो । नेपालमा पनि प्रेस स्वतन्त्रताका क्षेत्रमा रहेका समस्या र चुनौतीका विषयमा छलफल र समीक्षा गर्दै यो दिवस मनाइँदै छ ।
आधुनिक विश्वमा नागरिकलाई सुसूचित गर्ने दिशामा प्रेसको भूमिका सर्वोपरि रहेको छ । प्रेसको भूमिका संकुुचित हुने अवस्था आउन नदिन विश्वव्यापी रूपमा यो दिवस मनाउन थालिनु प्रेसप्रति विश्वव्यापी प्रतिवद्धता समेत हो । मुख्य रूपमा विश्वभरिका राष्ट्रका सरकारलाई प्रेस स्वतन्त्रताप्रतिको सम्मानको प्रतिवद्धताको स्मरण गराउने अवसर पनि हो यो दिवस । सञ्चार माध्यमसँग आवद्धलाई व्यावसायिक आचारसंहिता परिपालना तथा प्रेस स्वतन्त्रताबारे झकझकाउने अवसरका रूपमा पनि यो दिनलाई लिने गरिन्छ । आफ्ना समाचार, लेख तथा समाचार संकलनका क्रममा ज्यान गुमाएका पत्रकारको योगदान स्मरण गरिने हुनाले पनि यो दिन महत्वपूर्ण मान्न सकिन्छ । हरेक वर्ष यो दिवस मनाउने गरिए पनि नेपालको प्रेस स्वतन्त्रताको अवस्था भने खस्कँदै गएको छ । यो अत्यन्त दुखद् हो । विगतको तुलनामा पत्रकार तथा सञ्चारगृह माथि हुने हिंसाका घटना बराबरी भएपनि कानुनी रूपमा प्रेसमाथि नियन्त्रण गर्ने सरकारको आकांक्षा बढ्दो छ ।
प्रेस स्वतन्त्रताबिना सुदृढ लोकतन्त्रको परिकल्पना गर्नु असम्भवप्रायः होे, स्वतन्त्र प्रेस नै लोकतन्त्रको मर्म तथा मेरुदण्ड हो । लोकतन्त्र तथा स्वतन्त्र प्रेसलाई एकै सिक्काका दुई पाटाका रूपमा पनि लिन सकिन्छ । विश्वभर नै लोकतन्त्रलाई सही दिशामा डो¥याउन स्वतन्त्र प्रेसको निकै महत्वपूर्ण भूमिका रहदै आएको कुरामा कुनै दुई मत छैन । मुलुकमा सुशासन प्रवद्र्धन प्रेसको प्रभावकारी भूमिकामा मात्र सम्भव छ । त्यसका लागि आर्थिक अनियमितता नियन्त्रण आवश्यक हुन्छ । प्रेसले शक्तिको दुरुपयोग गरी आर्थिक अनियमितता गरेको कुरा सार्वजनिक गरिदिन्छ र त्यसले शक्तिको दुरुपयोग गर्नेका लागि सजग हुने माध्यम बन्छ । प्रेसले विकास निर्माणलाई प्रवद्र्धन गर्छ भने सामाजिक सद्भावको अभिवृद्धि समेत गर्छ । त्यसैले स्वतन्त्र प्रेसको निकै अर्थपूर्ण भूमिका रहिआएको पाइन्छ । यसर्थ यो दिनको महत्वलाई ध्यानमा राख्दै हाम्रो मुलुकमा प्रेस स्वतन्त्रताको दायरालाई फराकिलो तुल्याउन राज्यलाई प्रेरणा मिलोस् । यही नै हाम्रो कामना छ ।