पाल्पा, नेपाल ट्रेड युनियन काँग्रेस पाल्पामा नयाँ नेतृत्व आएको छ । सोमबार तानसेनमा भएको युनियनको सातौं अधिवेशनले निलकण्ठ देवकोटाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । निर्माण व्यवसायी, सहकारी अभियान्ता तथा सामाजिक क्षेत्रमा क्रियाशिल देवकोटालाई अधिवेशनले निर्विरोध निर्वाचित गरेको छ ।
युनियनको खुल्ला उपाध्यक्षमा सुुनिल बूढाथोकी, महिला उपाध्यक्षमा सरस्वती राज भण्डारी, सेवा क्षेत्रको उपाध्यक्षमा मणिराम अधिकारी, असंगठीत तथा स्वरोजगार क्षेत्रको उपाध्यक्षमा सुनिता राणा चयन भएका छन् । यस्तै युनियनको सचिवमा लोकनाथ अधिकारी, सह–सचिवमा कूलबहादुर घर्ती मगर, कोषाध्यक्षमा लिलाबहादुर राना, सह–कोषाध्यक्षमा देवलक्ष्मी भट्टराई रहेका छन् ।
सदस्यहरुमा टंक प्रसाद अर्याल, वविता पन्थी, सुजन कार्की, शालिकराम गन्धर्व, तुलसा नेपाल र शान्ति थापा चयन भएको युुनियनले जनाएको छ । यस्तै अधिवेशनले प्रदेश प्रतिनिधि र केन्द्रीय प्रतिनिधि समेत चयन गरेको छ । प्रदेश प्रतिनिधिमा दिनेश गन्धर्व, नन्द ज्ञवाली न्यौपाने, खिमान्नद पोखरेल, बैकुण्ठ शर्मा, केन्द्रीय प्रतिनिधिमा टुनविर रेस्मी, लक्ष्मण रायमाझीलाई चयन भएका हुन् ।
अध्यक्ष पदमा निर्वाचित भएपछि नवनिर्वाचित अध्यक्ष देवकोटाले श्रमिक वर्गको हकअधिकारको पैरवीका लागि सबैको साथ र समर्थन अपरिहार्य रहेको बताए । उनले श्रमजीवीहरुको पेसागत हकहित, अधिकार र सुरक्षाका क्षेत्रमा ट्रेड युनियनलाई थप सशक्त र क्रियाशिल बनाएर लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् । नवनिर्वाचित अध्यक्ष देवकोटाले सबै श्रमिकहरुको सामाजिक सुरक्षाको सुनिश्चितता कार्यान्वयन आजको आवश्यकता रहेकाले त्यसविषयमा सम्बन्धित निकायलाई खबरदारी गर्ने बताए ।