पाल्पा, मानव अधिकार तथा शान्ति समाज पाल्पाले एक सय ३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ । समाजले सोमबार तानसेनमा एक कार्यक्रमको आयोजना गरी श्रमिक दिवस मनाएको हो ।
सो अवसरमा मानव अधिकारकर्मीहरुले श्रम हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न सचेतनामूलक प्लेकार्ड सहित तानसेनस्थित आन्दोलनचोकमा कोण सभा गरेका थिए । कोणसभालाई सम्बोधन गर्दै समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कृष्ण रावलले लोकतन्त्रमा मात्रै मजदुरका हक अधिकार स्थापना गर्न सकिने बताए । उनले विकास र सम्वृद्धिले लोकतन्त्रलाई स्थायीत्व प्रदान गर्ने बताउँदै श्रमजीवीहरु सधैँ चनाखो हुनुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा समाजका केन्द्रीय सदस्य अरुण ज्ञवाली, नेपाल महिला संघ पाल्पाकी उपाध्यक्ष मीना पन्थी, नेपाल ट्रेड युनियन पाल्पाका उपाध्यक्ष सुनिल बुढाथोकी, नेपाल निर्माण तथा संम्वद्ध श्रमिक संघका पूर्व केन्द्रीय सदस्य दिनेश गन्दर्व लगायतले परिवर्तनका साझेदार श्रमजीवीहरुलाई राजनीतिक दलहरुले सधै हतियार मात्र बनाएको गुनासो गरेका थिए । उनीहरुले राजनीतिक दलहरुले निर्वाचन अगाडि गरेको बाचा बारम्बार भुलेको समेत बताए । उनीहरुले श्रमिकका अधिकार नारामा मात्रै सीमित रहेको भन्दै राज्यले अधिकार कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन, आठ घण्टा विश्रामको नीति कायम गर, काम गर्ने ठाउँमा मजुदर माथि हुने विभेद अन्त्य गर, श्रमिकहरुको सामाजिक न्याय, सुरक्षा, आर्थिक समानतालाई सुनिश्चित गर, समान काम, समान ज्याला कायम गर, नीति निर्माणका क्षेत्रमा श्रमिकहरुको सहभागिता र प्रतिनिधित्वलाई सुनिश्चित गर जस्ता प्लेकार्ड लिएर समाजका नेताहरु कार्यक्रममा उपस्थित थिए । समाजका जिल्ला सभापति रेनुका देवकोटाको अध्यक्षता, उपसभापति विष्णु बरालको स्वागत, सचिव शुसिला रेग्मीको सञ्चालनमा कार्यक्रम भएको थियो । सोही अवसरमा शाखाकी कोषाध्यक्ष इन्दिरा ज्ञवालीले साहित्य सिर्जना वाचन गरेकी थिइन् । नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै यो दिवसमा सार्वजनिक विदा दिन थालिएको थियो । सोमबार पनि सार्वजनिक विदा दिइएको थियो । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदूर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन शुरु गरिएको थियो ।