२०७२ सालको वशौख १२ सबैको मानस्पटलमा ताजै छ । ८ वर्षअघि वैशाख १२ गते, मध्यान्ह १२ बजेपछि मुलुक सन्त्रासमा परेको थियो । त्यो अत्यास र कहाली लाग्दो क्षण सम्भवतः कसैले पनि विर्सिएका छैनन् । जुन दिन नेपालले महाभूकम्पको दैवी प्रकोप खेप्यो । आज २०७२ सालको भूकम्पको आठौँ वर्ष पुगेको दिन हो । यो दिनलाई धेरैले स्मरण गरेका छन् । भूकम्पमा परी ८ हजार ८ सय ९१ जनाभन्दा बढीको मृत्यु भयो । २२ हजार ३ सयभन्दा बढी घाइते भए । यो कहाली लाग्दो घटना भुल्न सकिदैन । त्यो भूकम्पमा ९ लाख घर ध्वस्त भएका थिए । हजारौंको ज्यान लिने त्यो महाभूकम्प अनि त्यसपछिका अनगिन्ती पराकम्पमा प्रकृतिसँग मानव संरचनाहरूले घुँडा टेकेका थिए । अझ ७ वर्षसम्म पनि पूरा नभएका पुनः उस्तै संरचना अनि निर्माणको बेथिति देख्दा भने कति छिटो र सजिलै महाभूकम्पलाई भुल्यौं भन्ने भान हुन्छ । भूकम्पको नाश, वियोग अनि ज्ञान सबै कुरालाई आत्मसात् गर्दै अघि बढ्नु अहिलेको आवश्यकता हो ।
आज भूकम्पको स्मरणमा देशैभर विभिन्न कार्यक्रम हुँदैछन् । भूकम्पमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली र घाइते भइ अंगभङ्ग भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिदै छ । भूकम्पजस्ता महाविपत्तिको सम्झना गरिरहँदा जीवन गुमाएका हजारौं नागरिकलाई श्रद्धाञ्जली दिएर मात्र हाम्रो कर्तव्य पूरा हुँदैन । भविष्यमा हुन सक्ने त्यस्ता मानवीय विपत्तिबाट कसरी जोगिने ? भन्ने विषयमा पनि गम्भीर बन्नुपर्छ । कुनै पनि बेला अर्को भूकम्प आउन सक्छ भन्ने कुराको हेक्का राख्न जरुरी छ । कुनै पनि विपद्ले भविष्यका लागि तयारी गर्न हामीलाई पाठ सिकाउँछ । हामीले २०७२ सालको भूकम्पबाट शिक्षा लिन सक्नुपर्छ । घर, भवनहरु निर्माण गर्दा भूकम्पप्रतिरोधी बनाउनु पर्छ । जसले गर्दा भूकम्प जस्ता विपत्तिबाट हुन सक्ने क्षतिबाट जोगिन सकिन्छ । यसर्थ २०७२ को १२ मा भएको जस्तो घटना दोहोरिन नदिऔं । यसतर्फ सबै सचेत बनौं ।