Shittalpati
तानसेनमा हनुमान जयन्ती मनाइयो

पाल्पा, जिल्लाको तानसेनमा हनुमान जयन्ती मनाइएको छ । बिहीबार सनातन धर्म सेवा समिति मेहल्धारा तानसेनले हुनुमानको पूजासँगै हनुुमानको मन्दिरमा रङ्गरोगन गरी हनुमान जयन्ती मनाएको हो । हनुमान जयन्तीको अवसरमा सनातन धर्मका अनुयायीले नारायणस्थान फूलबारीस्थित हनुमान मन्दिरमा हनुमानको पुजा गरेका हुन् ।

चैत्र शुक्ल पूर्णिमा, रामदूत हनुमानको जन्मजयन्तीका रूपमा मनाउने गरिन्छ यस दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने तथा दुःख र संकटबाट मुक्ति पाइने विश्वास छ । हनुमान मन्दिर सनातन धर्म सेवा समितिको इष्ट (गुठ) देवता हुन् । समितिले नारायणस्थानमा जिर्ण अवस्थामा रहेको उक्त हनुमानको मन्दिर विभिन्न सहयोगी हातहरूको सहयोगमा पुनर्निर्माण गरेको थियो ।

सोही अवसरमा समितिले श्रीनगरडाडाँमा रहेको हनुमानको प्राचीन मन्दिरमा र·रोगन पनि गरेको छ । समितिले तानसेन श्रीनगरको पर्यटन विकासका लागि गुठीबन्धुहरूकै पहलमा श्रीनगरमा २०६७/०९/१० मा बजरंगबली स्वरूपको हनुमानको मूर्ति स्थापना गरेको थियो । उक्त मूर्ति पुनःमर्मत सम्भार गरी अहिले रंगरोगन लगाउने काम गरिएको समितिका अध्यक्ष बरूण रेग्मीले बताए । तानसेन–२ का निवर्तमान वडा अध्यक्ष समेत रहेका रेग्मीले तानसेनको धार्मिक सम्पदाहरुको संरक्षण गर्नु अहिलेको आवश्यकता रहेको बताए । उनले स्थानीयस्तरमा रहेको सांकृतिक, धार्मिक सम्पादहरुको संरक्षण र प्रवद्र्धन गर्ने काममा स्थानीय सरकारले समेत ध्यान दिन जरुरी रहेको औल्याए । हनुमान जयन्तीको अवसरमा पूजाआजा र मन्दिर सरसफाई गरिएको समितिका सचिव पुष्कर रेग्मीले बताए ।

बिहीबार पाल्पासहित देशभरका हनुमान मन्दिरमा पूजा आराधना गरिएको छ । रामायण कथाहरू, पात्रहरू अनि घटनाक्रममा हनुमान सबैभन्दा लोकप्रिय, दयावान अनि शक्तिशाली पात्रका रूपमा देखिन्छन् । रामभक्त अनि बलवान हनुमानलाई बल र शाहसको पर्यायका रूपमा पनि अभिव्यक्त गरिएको पाइन्छ । यस अवसरमा देशभरका हनुमान मूर्ति एवं मन्दिरमा पूजा आराधना गर्नुका साथै शोभायात्रा निकालिएको छ । पौराणिक कथामा उल्लेख भए अनुसार अन्जानेरी पर्वतमा जन्मिएका हनुमानकी आमा अन्जना एउटी अप्सरा हुन् । जो आफूमाथि परेको श्रापको कारणले पृथ्वी लोकमा बसेकी हुन् । हनुमानका पिता सुमेरु पर्वतका राजा वृहस्पतिका छोरा केशरी हुन् । हनुमानलाई पवन पुत्र पनि भनिन्छ । आमा अञ्जनाले लामो समयसम्म भगवान् शिवको आराधना गरेपछि उनको आराधनाले भगवान् शिव प्रसन्न भए । त्यसपछि शिवले भगवान् वायुलाई आफ्नो पुरुष शक्ति अनि ऊर्जाहरूलाई केन्द्रित गरेर अञ्जनाको गर्भमा भरिदिन भनेपछि हनुमान गर्भमा आएकाले हनुमानलाई वायु पुत्र या पवन पुत्र भनिन्छ । हनुमान बाहेक महाभारतका कुन्तीपुत्र भीम पनि पवनपुत्र हुन् ।

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update