पछिल्ला केही दिन यता पूर्वमाओवादीहरुको एकताको कुराले चर्चा पाएको छ । सशस्त्र विद्रोहबाट आएकाहरु एक हुनुपर्छ भन्ने आवाज पूर्वमाओवादी भित्रबाटै आएपछि यो विषयले अहिले चर्चा पाएको हो । संक्रमणकालीन न्यायको मुद्दामा उनीहरु अहिले एक ठाउँमा उभिएरका छन् । १० वर्षे ‘जनयुद्ध’लाई आपराधिकरण गर्छ कि भन्ने डरमा उनीहरु एकताका कुरा गरेका हुन कि भन्ने चर्चा पनि बाहिर हुुने गरेको छ । तर मिल्नुपर्छ भन्दा भन्दै माओवादीहरु शान्ति प्रक्रियामा आएको करिब १७ वर्षमा १७ भन्दा बढी टुक्रा भइसकेका छन् ।
पछिल्लो पटक देखिने नेत्र विक्रम चन्द विप्लव नेतृत्वको समूहबाट धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश ओलीहरु अलग भए । तर उनीहरु पनि पूर्व माओवादीहरु मिल्नुपर्छ भन्न छाड्दैनन् । माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डविरुद्ध अदालतमा मुद्धा परेपछि एउटै मञ्चमा भेला भएका नेताहरुले माओवादी धारबाट आएकाहरु एक हुनुपर्नेमा जोड दिए । सशस्त्र द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा आफूले लिने प्रचण्डको १ माघ २०७६ को अभिव्यक्तिलाई लिएर फैजदारी अभियोगमा छानबिन गरी कारबाहीको माग गर्दै सर्वोच्चमा रिट परेको छ । यसबाट बचाउ गर्दै उनीहरु एकताको कुरा गरेका छन् । के उनीहरु अब एक ठाउँमा आउन सक्छन् ? यो विषयले कौतुवलता सिर्जना गरेको छ । हुन त विगतमा कम्युनिष्टहरु एक ठाउँमा आउन खोजेपनि आउन नसकेका घटना छन् । जसले गर्दा पूर्वमाओवादीहरु पनि एक ठाउँमा आउन्छन् भनेर विश्वास गरिहाल्न सकिदैन । तर माओवादीको एकताको कुरालाई अन्यथा लिनुु पनि हुँदैन । वास्तवमा शान्ति प्रक्रियामा आएयता माओवादीमा विचलन नआएको भए उक्त पार्टी सबैभन्दा सबल पार्टीका रूपमा रहनसक्ने सम्भावना थियो तर त्यसो हुन सकेन । हुन त आपसी मनोमालिन्य, गुट–उपटुट नेपाली काँग्रेसमा पनि स्थापना कालदेखि नै थियो । पछि आएर विभाजन र फेरि एकता काँँग्रेसमा पनि भएकै हो । अहिले पनि ‘नेपाली काँग्रेस’ जोडिएका पार्टीहरू छँदै छन् तर हालसम्मको इतिहासबाट के देखिएको छ भने मूल पार्टीबाट फुुटेर जानेहरू मूल पार्टी जति सबल बन्न सक्दा रहेन छन् । यसर्थ पूर्व माओवादीहरुले भने झै पार्टी एकता अहिलेको आवश्यक रहे पनि तत्कालका लागि यो सम्भव देखिदैन ।