काठमाडौं, आइसिसी विश्वकप क्रिकेट लिग(२ को अन्तिम शृङ्खलाको पहिलो एकदिवसीय खेलमा नेपालले पपुवा न्यूगिनीलाई ५२ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमलव एक ओभरमा सबै बिकेट गुमाउँदै हालसम्म कै उच्च स्कोर दुई सय ९७ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको पपुवा न्यूगिनीले ४७ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४५ रनमा सीमित बन्यो ।
जितसँगै नेपालले ३३ खेलमा ३४ अङ्क जोडेको छ । नेपाल अङ्क तालिकाको पाँचौ स्थानमा छ । समान ३३ खेल खेलको पपुवा न्यूगिनी ९ अङ्कका साथ अङ्क तालिकाको अन्तिम स्थानमा छ ।
नेपालका लागि ओपन आशिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ११० रनको साझेदारी गरे । खेलमा आशिफ शेखले सर्वाधिक ११० रन बनाए । कुल ११० बल खेलेका उनले दुई छक्का र १२ चौका प्रहार गरे ।
आशिफको यो पहिलो एक दिवसीय शतक हो । उनी एक दिवसीयमा खेलमा शतक प्रहार गर्ने नेपालका लागि पाँचौ खेलाडी बने । यसअघि राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले शतक प्रहार गरिसकेका छन् ।
शतकसँगै आशिफले एक दिवसीय खेलमा एक हजार रनसमेत पूरा गरेका छन् । एक हजार रन पूरा गर्ने उनी नेपालका उनी दोस्रो खेलाडी बने । यसअअघि नेपालका रोहित पौडेलले एक दिवसीयमा एक हजार रन पूरा गरेका थिए ।
साथै नेपालका लागि ब्याटर कुशल भुर्तेलले ४५ रन, भिम सार्कीले ४४ रन, रोहित पौडेलले ३० रन बनाए । साथै आरिफ शेखले १५ रन, ज्ञानेन्द्र मल्लले ११ रन र दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछोनले सात र सोमपाल कामीले चार र कुशल मल्लले दुई रन बनाए । बलिङतर्फ पपुवा न्यूगिनीका सेमो कमिया पाँच विकेट लिए भने राइली हेकुरेले तीन विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको पपुवा न्यूगिनीको सुरुवात राम्रो रह्यो । पहिलो विकेट ११ दशमलव दुई ओभरमा ७७ रनमा झरेको थियो । पपुवा न्यूगिनीका लागि नोर्मान भानुवाले सर्वाधिक ६० रन बनाए भने ओपनर टोनी उराले ५० रन बनाए । साथै असाद भालाले ४२, रिले हेकुरेले २० रनको योगदान गरे । नेपालको जितमा सन्दीप लामिछानेले चार विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले दुई र कुशल मल्लले एक विकेट लिए ।
विभिन्न सात राष्ट्र सहभागी यस सिरिजमा नेपालले अब तीन खेल खेल्न बाँकी छ । पपुवा न्यूगिनीसँगको एक र युएईसँगको दुई खेलमा विजयी भए नेपालले शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेल्न पाउनेछ ।
लिगका सबै खेल खेलिसकेको स्कटल्यान्ड ५० अङ्काका साथ शीर्ष स्थानमा छ भने ओमान ४४ अंकसहित दोस्रो स्थानमा छ । स्कटल्यान्ड र ओमानले जिम्बाब्बेमा आयोजना हुने विश्वकप छनोट खेल्ने पक्का भैसकेको छ । बाँकी एक स्थानका लागि नामिबिया, युएई र नेपाल प्रतिस्पर्धामा छन् । यी तीन टोलीमध्ये एक टोलीले विश्वकप छनोट खेल्न पाउनेछन् ।
नामिबिया ३६ खेलमा ३९ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ भने अमेरिका ३६ खेलमा ३५ अङ्कसहित चौथो स्थानमा छ । कुल ३२ खेल खेलेको युएइ ३१ अङ्कका साथ छैटौ स्थानमा छ । नेपालले जारी शृङखलाको आफनो दोस्रो खेल यही फागुन २८ गते युएईसँग खेल्नेछ । –रासस