कृष्ण पोखरेल
पाल्पा, केन्द्रमा राष्ट्रपति निर्वाचनको चटारो परेको बेला जिल्ला जिल्लामा भने स्वयवियु निर्वाचनको चटारो बढेको छ । आउँदो चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागि पाल्पामा विद्यार्थीहरुको चहलपहल बढेको छ । पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको लागि ८ विद्यार्थी संघ संगठनले संस्था दर्ता गराएका छन् ।
त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैटौं, नेकपा एकिकृत समाजवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन, नेकपा माओवादी बहुमत पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी विद्यार्थी संघ संगठनदेखि स्वतन्त्र समुहको रुपमा सलग्न विद्यार्थी युनियनले निर्वाचनका लागि संस्था दर्ता गरेका छन् ।
सबै संघ संगठनका संयोजकहरुले क्याम्पसको निर्वाचन कार्यालयमा पुगी रितपुर्वक संस्था दर्ता गराएको सहायक निर्वाचन अधिकृत पुष्कर आचार्यले जानकारी दिए । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले आउदो चैत्र ५ गते स्ववियु निर्वाचनको लागि फागुन १९ गते संघ, संगठन, समुह दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशित, फागुन २५ गते मतदाता सूची उपर दावी विरोध, छानविन तथा अन्तिम नामावली प्रकाशन, फागुन २६ गते प्रत्यक्ष तर समानुपातिक तर्फ उम्मेदवारहरुको मनोनयनपत्र वितरण कार्यक्रम रहेको निर्वाचन अधिकृत जीवनबहादुर थापाले बताए । यसैगरी फागुन २७ गते उम्मेदवारहरुको मनोनयन पत्र दर्ता, फागुन २८ गते उम्मेदवार विरुद्धको दावी विरोध गर्ने र छानविन गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने, फागुन २९ गते ईच्छुक उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम उम्मेदवारको नामावली प्रकाशित गर्ने र चैत्र ५ गते मतदानको कार्यतालिका रहेको क्याम्पस प्रमुख टंकप्रसाद भट्टराईले जानकारी दिए ।
त्रिभुवन बहुमुखी क्याम्पसमा १९ बर्षपछि स्ववियु निर्वाचन हुन लागेको हो । यस अघि २०६५ सालमा भएको निर्वाचनमा नेविसंघका हरिवोल भट्टराई स्ववियु सभापतिमा निर्वाचित भएका थिए । त्रिभुवन बहुमुखी क्याम्पस तानसेन बाहेक शहिद बहुमुखी क्याम्पस रामपुर, उद्धवुद्ध कलेज पूर्वखोला र माण्डव्य बहुमुखी क्याम्पस दमकडा तानसेनमा स्ववियु निर्वाचन हँुदैछ । एक्ला एक्लै वा गठबन्धन गरेर स्ववियु निर्वाचन जित हासिल गर्न विद्यार्थी संघ संगठनका नेतादेखि माउँ पार्टीका नेताहरु आन्तरिक तयारदेखि मत जोड घटाउमा सक्रिय भएका छन् ।