पाल्पा, नेकपा एमाले सरकारबाट बाहिरिएको छ । राष्ट्रपति निर्वाचनको सन्दर्भमा नयाँ गठबन्धन बनेपछि एमालेले सरकार छोडेको हो । एमालेको सोमबार बसेको सचिवालय बैठकले सरकारबाट अलग हुने निर्णय गरेको थियो । सो निर्णय पछि सरकारमा सहभागी एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन् । एमालेबाट मन्त्री बनेका आठैजनाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर राजीनामापत्र बुझाएका हुन् । दाहाल मन्त्रिपरिषद्रुमा एमालेबाट विष्णु पौडेलको नेतृत्वमा आठ जना सहभागी थिए ।
पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री थिए । ज्वालाकुमारी साह कृषि तथा पशुपक्षी विकास, दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति, राजेन्द्रकुमार राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमला राई पौड्याल परराष्ट्र, पदम गिरी स्वास्थ्य तथा जनसंख्या, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र हरिप्रसाद उप्रेती रक्षामन्त्री थिए । राष्ट्रपति निर्वाचनमा सरकारको नेतृत्व गरिरहेको माओवादीले काँग्रेससँग सहकार्य गरेपछि एमाले सरकारबाट बाहिरिएको हो । सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निणर्य सचिवालय बैठकले गरेको छ । एमालेले राष्ट्रपति निर्वाचनमा कुरा नमिले पनि सरकारलाई दिएको समर्थन कायमै राखिरहने कोसिस गरेको पनि अन्ततः सरकारबाट हट्ने निर्णय हो । प्रधानमन्त्री पुष्पकमल दाहालले मानवअधिकार परिषद्को बैठकमा जान लागेकी परराष्ट्रमन्त्री विमला राई पौड्याललाई अन्तिम अवस्थामा रोकेपछि एमालेले सोमबार बिहान सचिवालय बैठक राखेको थियो । नेकपा एमाले, राप्रपा तथा रास्वपा सरकारबाट बाहिरिएपछि सरकारमा नेकपा माओवादी केन्द्र र जनमत पार्टी मात्र छन् ।