नेपाली राजनीति बुझिनसक्नु छ । मुलुकमा आवश्यकभन्दा धेरै राजनीतिक दल छन् । ति राजनीतिक दलको सिद्धान्त के हो ? भन्ने कुरा ठम्याउन सकिँदैन । राजनीतिक सिद्धान्त, निष्ठा वा आदर्शले कुनै पनि राजनीतिक दलमा काम गरेको देखिँदैन । दलहरू सत्ता र शक्ति केन्द्रीत भएका छन् । विशेष गरेर सत्तालाई भागबन्डा गर्ने र बाँडीचुँडी पद वितरण गर्ने संस्कृति जनआन्दोलन २०६२/०६३ पछाडी उत्कर्षमा पुगेको देखिन्छ । सत्ता सञ्चालनका लागि गठबन्धन गरेका दलहरुहरु भागबण्डा नमिलेपछि एक/दुई महिनामै टुट्नु र अर्कोसँग जुट्न पुग्ने नेपाली राजनीतिमा कुनै नौलो कुरा नै हुन छोड्यो । दुई महिनामै नेपाली राजनीतिको कोर्ष बदलिएको छ । सत्ता गठबन्धन र निर्वाचनमा समेत तालमेलमा रहेको नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र दुवैको हठका कारण लामो समयदेखि भइरहेको गठबन्धन टुटेर एउटा निश्चित बाटोबाट अगाडि बढिरहेको राजनीति बाटो बदलेर अर्कातिर लागेको थियो । यसपछि गठबन्धनमा रहेका तत्कालीन दलहरूमा निराशा छाएको थियो भने नेकपा एमाले संसद्को दोस्रो दल भएर पनि सरकारमा बाजी मारेका कारण हालीमुहाली नै उसको स्थापित हुन गयो ।
नेपाली काँग्रेसले लामो समयदेखि नेपालको राजनीति देख्दै, भोग्दै र बेहोर्दै आएका कारण यसलाई ती पार्टीको यो क्षणिक आत्मरति हो भन्ने बुझेको थियो । त्यसैले उक्त पार्टीका नेताहरूबाट सरकारको स्थायित्वका बारे अपत्यारिला अभिव्यक्तिहरू आइरहेका थिए । उक्त कुरा अहिले आएर पूरा भएको देखिएको छ । पुस १० गते माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने संसद्को यो कार्यकालले दुई जनामात्रै प्रधानमन्त्री बनाउने अपेक्षा थियो । उनी र त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली । तर एमालेसँगको सहमति तोड्दै दाहालले राष्ट्रपतिमा प्रतिपक्ष कांग्रेसलाई काखा च्यापेपछि एमाले सत्ताबाट बाहिरिने अवस्थामा पुगेको छ । यो कुनै खास दल सत्ताबाट बाहिरिनु र कुनै अर्काे भित्रनुमात्रै वा सामान्य राजनीतिक परिघटना होइन् । राष्ट्रपति कसलाई बनाउने भन्ने बहस र विवादमा ‘राष्ट्रिय सहमति’को ढोल पिटिए पनि खासमा सबै दल आफू अनुकूल व्यक्तिको खोजीमा रहेको प्रष्टै थियो । दुई महिना पहिलेको सरकारको गठबन्धन यति छिट्टै भताभुङ्ग भयो । भोलि पनि यस्तो अवस्था नआउला भन्न सकिदैन । त्यसैले नेपाली राजनीति झन् भन्दा झन् भद्रगोल बन्दै गएको छ ।