Shittalpati
वरिष्ठ नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं, नेपाली कांग्रेसले यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि पार्टीका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको पार्टीका उपसभापति धनराज गुरुङले जानकारी दिए ।

कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बसेको संयुक्त बैठकले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

मुलुककोे सर्वोच्च पद राष्ट्रपतिको यही फागुन २५ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ । –रासस

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update