Shittalpati
समीकरण जोसँग भए पनि माओवादीकै नेतृत्वमा सरकार रहन्छ :  नारायणकाजी श्रेष्ठ

कृष्ण पोखरेल
पाल्पा, नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष एवं उपप्रधान तथा भौतिक पूूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपतिको निर्वाचनमा समीकरण परिवर्तन भए पनि सरकार माओवादीको नेतृत्वमै रहिरहने बताएका छन् । शुक्रबार पार्टीको दुई महिने बैचारिक राजनीतिक तथा सांगठानिक अभियानको पाल्पामा शुभारम्भ गर्दै उनले राष्ट्रपति निर्वाचनमा नेपाली काँग्रेस वा एमाले जो सुकैको समीकरणमा माओवादीले समर्थन गरे पनि सरकारको नेतृत्व माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै गर्ने दावी गरेका हुन् ।

पछिल्लो अवस्था अनुसार एमालेसँग गरिएको समीकरण टुट्ने र नयाँ समीकरणमा राजनीति कोर्ष परिवर्तनका संकेतहरु बलियो बन्दै गएको उपप्रधानमन्त्री तथा भौतिक पूूर्वाधारमन्त्री श्रेष्ठले खुलासा गरे । श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीले फकाई फकाई बालुवाटारबाट बालकोट लगे पनि प्रधानमन्त्री बनेको अर्काे दिनदेखी माओवादीलाई घेरावन्दी सुरु गरेको दावी गरे । प्रचण्डलाई असफल बनाउन सत्ता साझेदार अन्य दलसँग बैठक गर्ने सोही कुरा बैठकमा लागु गर्न दवाव दिने काम भईरहेको उपप्रधानमन्त्री श्रेष्ठले आरोप लगाए । उपप्रधानमन्त्री श्रेष्ठले अब एमालेसँंग सहकार्य करीब करीव टुङ्गिएको बताए ।

एमाले अध्यक्ष ओलीले प्रतिगमन ठिक थियो भनि संसदमा भाषण दिएपछि नै सत्ता सहकार्यको नाममा माओवादी तथा प्रधानमन्त्री माथी नै घेरावन्दी शुरु भएकाले र संसदमा प्रतिपक्षीदल सहित ९९ प्रतिशत सांसदले विश्वासको मत दिएका कारण राष्ट्रपति सहमतिको आधारमा निर्वाचित गर्नुपर्ने अडान माओवादीले लिदै आएको उपप्रधानमन्त्री श्रेष्ठले बताए । पार्टी प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका पार्टी सचिव चक्रपाणी खनाल बलदेवले माओवादी पार्टी पहिलो हुन नेतृत्वतहबाट सच्चिएर कार्यकर्ताको माझमा जानुपर्नेमा जोड दिए । माओवादीका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, केन्द्रीय सदस्य एव पाल्पा इन्चार्ज अनिल किशोर घिमिरेले कार्यकर्ताको भावना अनुसार नेतृत्व तहबाट काम गर्नुपर्नेमा जोड दिए । दुई महिने अभियानमा माओवादी पार्टी रुपान्तरणको अवस्थामा पुग्ने विश्वास प्रशिक्षणमा सहभागी नेताहरुले गरेका छन् । पार्टीका जिल्ला संयोजक राजेन्द्र विकको अध्यक्षता, नगर इन्चार्ज रामबहादुर रावलको स्वागत र सचिव मथुरा ढकालको सञ्चालनमा प्रशिक्षण कार्यक्रम भएको थियो ।

यस्तै नेपाल पत्रकार महासंघ पाल्पाले गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री श्रेष्ठले भौतिक पूूर्वाधारको क्षेत्रमा भईरहेका काम तथा गतिविधीलाई चुस्तदुस्त बनाउने काम तिव्रताका साथ भईरहेको बताए । काम गर्ने नगर्ने निर्माण व्यवसायीलाई कारवाही शुरु गरिएको, ठूला ठूूला आयोजनाका निर्माण व्यबसायीसंँग छलफल गरी आफै सडक अनुगमन गर्दै आएको भौतिक पूूर्वाधार मन्त्री श्रेष्ठले बताए । कार्यक्रम संघका अध्यक्ष रेखीराम रानाको अध्यक्षता, उपाध्यक्ष भरत शर्माको स्वागत, कोषाध्यक्ष मुक्तिप्रसाद न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update