Shittalpati
तानसेनले हात पार्याे राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि

पाल्पा, राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि तानसेनले हात पारेको छ । माथागढीमा भएको १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा १६ स्वर्णसहित ४५ पदक जितेर तानसेनले उपाधि चुमेको हो । तानसेनले १६ स्वर्ण, १७ कास्य र १२ रजत पदक प्राप्त गरेको जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष दिपक घिमिरेले जानकारी दिए ।

यस्तै रामपुर नगरपालिका २२ पदकसहित प्रतियोगितामा उपविजेता बनेको छ । रामपुरले ६ स्वर्ण, ६ कास्य र १० रजत पदक प्राप्त गरेको छ । यस्तै तिनाउ गाउँपालिका तेस्रो बनेको छ । तिनाउले ५ स्वर्ण, ७ कास्य र ४ रजत गरी १६ पदक प्राप्त गरेको छ । सान्तवना माथागढी गाउँपालिका बनेको छ । माथागढीले ५ स्वर्ण, तीन कास्य र ७ रजत गरी कुल १५ पदक पाएको छ । यस्तै रम्भाले ४ स्वर्ण, ३ कास्य र ४ रजत गरी १० पदक हात पारेको छ । यस्तै पूर्वखोलाले ३ स्वर्ण, ४ कास्य र ५ रजत पदक गरी १२ पदक पाएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । यस्तै रैनादेवी छहराले २ स्वर्ण, २ कास्य र ३ रजत गरी ७ पदक पाएको छ । यस्तै बगनासकालीले १ स्वर्ण, २ कास्य र ७ रजत पदक पाएको छ भने रिब्दीकोटले १ स्वर्ण, १ कास्य, २ रजत पाएको छ । यस्तै निस्दी गाउँपालिकाले १ स्वर्ण र रजत ५ पदक पाएको जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष तिलक थापाले जानकारी दिए । समापन समारोहमा प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य नारायणप्रसाद आचार्यले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताले स्थानीय स्तरमा खेलाडी उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

देशको अवस्था अनुसार राज्यको लगानी खेल क्षेत्रमा सन्तोषजनक मान्नुपर्ने भन्दै उनले संघ, प्रदेश र स्थानीय सरकार मिलेर खेल क्षेत्रको विकास गर्न सकिने धारणा राखे । कार्यक्रममा विशिष्ट अतिथि एवं प्रदेश सभा सदस्य खेमबहादुर सारुले खेल क्षेत्रबाट पर्यटन प्रवद्र्धन गर्न सकिने धारणा व्यक्त गरे । उनले माथागढीको सराई क्षेत्रलाई जिल्लाकै नमूना खेलमैदानका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । यस्तै लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले खेल क्षेत्रको विकासका लागि खेल शिक्षक तथा खेल प्रशिक्षण विद्यालयसम्म पुग्नुपर्नेमा जोड दिए । उनले खेल क्षेत्र अहिले पनि राज्यबाट उपेक्षामा परेको भन्दै त्यसलाई सरकारले महत्व दिएर मात्र खेल क्षेत्रमा विकास गर्न सकिने बताए । माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले खेलकुद क्षेत्रको विकासमा पालिकाले विशेष ध्यान दिने उल्लेख गरे । कार्यक्रममा माथागढी गाउँपालिका–१ का वडाध्यक्ष राजकुमार पन्थी, तानसेन–९ का वडाध्यक्ष राजेशकुमार अर्याल लगायतले विजयी खेलाडीलाई बधाई तथा शुभकामना दिए । प्रतियोगितामा छात्राछात्र बीच एथलेक्टिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्डो लगायतका खेल भएको खेलकुद विकास समितिका कार्यालय प्रमुख खुमबहादुर बयम्बुले जानकारी दिए । समापन कार्यक्रम खेलकुद विकास समितिका कार्यवाह अध्यक्ष दिपक घिमिरेको अध्यक्षता र पत्रकार महासंघका उपाध्यक्ष भरत शर्माको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update