काठमाडौं,नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीको काठमाडौं बुद्धनगरस्थित घरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर विस्फोट भएको छ । गएराति खाना पकाइरहेका बेला गुल्मी निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद भण्डारीको घरमा सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका छन् ।
भण्डारी र उनकी आमालाई तत्कालै उपचारका लागि एम्बुलेन्सबाट कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको भण्डारीको सचिवालयले जानकारी दियो । डाक्टरहरुका अनुसार डा.भण्डारीको शरीरको करिब २५ प्रतिशत र आमाको शरीरको करिब ७० भागमा जलेर असर गरेको छ । घटनापछि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताहरू कीर्तिपुर अस्पताल पुगेका थिए । अहिले उनीहरूको कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ । सिलिन्डर राति करिब १० बजेतिर विस्फोट भएको सचिवालयले जानकारी दिए ।