पाल्पा, जिल्लाको तानसेनमा रहेको गणेश बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई सहकारी बारे शिक्षा दिएको छ । बचत तथा ऋणको कारोबार गर्ने उद्देश्यले २०७० सालमा स्थापना भएको सो सहकारीले शेयर सदस्यहरुमा सहकारी सम्बन्धी ज्ञान दिनका लागि दुुई दिने सहकारी शिक्षा दिएको हो ।
सहकारी बारे आधारभूत ज्ञान, सहकारीले प्रदान गर्ने सेवा अन्तर्गतका बचत सेवा र ऋण सेवासँगै सहकारी नीति, नियम बारे सदस्यहरूलाई जानकारी दिन सो कार्यक्रम गरिएको संस्थाका अध्यक्ष विष्णु गाहाले बताए । हरेक वर्ष सहकारीमा आवद्ध शेयर सदस्यहरुलाई सहकारीका विषयमा शिक्षा दिदै आइएको अध्यक्ष गाहाले बताए । उनले भने ‘शेयर सदस्यहरु सहकारीका मालिक हुन्, उनीहरुलाई सहकारीका बारेमा ज्ञान दिन सकियो भने सहकारीलाई थप मजबूद बनाउन सहयोग पुग्छ भन्ने हाम्रो बुझाई हो ।’ शेयर सदस्यहरुले सहकारीको सिद्धान्त र त्यसको उद्देश्यका विषयमा जानकारी नहुँदा समस्या उत्पन्न हुने हुँदा हरेक वर्ष सहकारी बारेमा शिक्षा दिइदै आएको अध्यक्ष गाहाले बताए । तालिममा प्रशिक्षक रामचन्द्र रायमाझीले शेयर सदस्यहरुलाई सहकारीको इतिहास, सहकारी के हो ? सहकारीका सिद्धान्त, विशेषता, बचत गर्ने तरिका, ऋणको सदुपयोग, दुरुपयोग, सहकारीका समस्या, समाधानका उपायहरु, शेयर सदस्यहरुको भूमिका, लेखापरीक्षकको भूमिका, व्यवस्थापकको भूमिका लगायतका विषयमा जानकारी गराएका थिए ।
यस्तै उनले शेयर सदस्यहरुलाई नेतृत्व विकासका विषयमा पनि प्रशिक्षण दिइएका थिए । सहकारी सञ्चालनमा नेतृत्वको भूमिका, असल नेतृत्वमा हुनुपर्ने गुणहरु लगायतका विषयमा जानकारी गराइएको थियो । तालिममा सहभागीहरुले सिकेका कुराहरु व्यवहारमा उतार्ने बताएका छन् । सहकारीका सल्लाहकार रुकबहादुर थापाले तालिम अत्यन्त उपलब्धिमूलक रहेको बताए ।
उनले सहकारी शिक्षा सबै शेयर सदस्यहरुका लागि आवश्यक रहेको भन्दै तालिमले सहकारीलाई थप मजबूद बनाउने बताए । तालिम उद्घाटन शत्र संस्थाका अध्यक्ष विष्णुु गाहाको अध्यक्षता, उपाध्यक्ष दलबहादुर थापाको स्वागत, सचिव कान्तिमाया आलेको सञ्चालनमा कार्यक्रम भएको थियो ।