Shittalpati
सम्पर्कविहीन युवराज र अमृतको खोजीमा पहल गर्न काँग्रेसको आग्रह

पाल्पा, भोटेकोशी बाढीमा परी लामो समयदेखि सम्पर्कविहीन रामपुर नगरपालिका–७ का युवराज (रामु) सोती र अमृत सोतीको परिवारलाई भेटेर नेपाली कांग्रेस पाल्पाले उनीहरूको खोजी तथा उद्धारमा थप प्रभावकारी पहल गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ । बाढीले आफन्तलाई सम्पर्कविहीन बनाएपछि पीडामा रहेका परिवारसँग भेटघाट गर्दै कांग्रेस पाल्पाले तत्कालको राहतभन्दा पनि बेपत्ता रहेका व्यक्तिको अवस्थाबारे यथाशीघ्र जानकारी प्राप्त गर्न खोजी कार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको हो । 

कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठको नेतृत्वमा पुगेको टोलीले परिवारलाई भेटेर पार्टीका तर्फबाट रु. १० हजार सहयोग गरेको थियो । त्यस्तै, नेपाल महिला संघ रामपुरले पनि रु. १० हजार सहयोग गरेपछि परिवारलाई कुल रु. २० हजार प्रदान गरिएको हो । परिवारसँगको भेटमा सभापति श्रेष्ठले विपद्का कारण आफ्ना सदस्य सम्पर्कविहीन हुँदा आफन्तले व्यहोर्नुपरेको पीडा गम्भीर रहेको बताए । उनले विपद्को समयमा पीडित परिवारलाई राहत र आर्थिक सहयोगसँगै उनीहरूका आफन्तको खोजी तथा अवस्थाबारे जानकारी गराउने कामलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए ।

युवराज (रामु) र अमृतको सकुशल खोजीका लागि राज्यका सम्बन्धित निकायले उपलब्ध सबै स्रोत र साधन परिचालन गर्नुपर्नेमा उनले जोड दिए । परिवारलाई आवश्यक पर्ने सहयोगमा कांग्रेस पाल्पा निरन्तर साथमा रहने प्रतिबद्धता पनि श्रेष्ठले व्यक्त गरे । भोटेकोशी बाढीपछि कांग्रेस पाल्पाले प्रभावित तथा पीडित परिवारसँग भेटघाट गरी राहत र आर्थिक सहयोग गर्दै आएको छ । यसअघि बाढीमा परी ज्यान गुमाएका तानसेन–१० का प्रहरी सहायक हवल्दार स्वर्गीय दिपेन्द्र विष्टको परिवारलाई आर्थिक सहयोग गरिएको थियो । रैनादेवी छहरा–१, सिद्धेश्वरका बाढीमा परी सम्पर्कविहीन आनबहादुर कुमालको परिवारलाई पनि नगद तथा खाद्यान्न सहयोग गरिएको कांग्रेस पाल्पाले जनाएको छ ।


 

प्रकाशित मिति: शनिबार, भदौ २०, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update