पाल्पा, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पाल्पाले १३ लाखभन्दा बढी राहत रकम जुटाएको छ । प्याब्सन पाल्पाका अनुसार संस्थाले कुल १३ लाख ३७ हजार २ सय २ रुपैयाँ सङ्कलन गरी प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरेको हो ।
सङ्कलित रकममध्ये १२ लाख ७५ हजार ६ सय ९७ रुपैयाँ प्याब्सन केन्द्रीय कार्यालयमार्फत प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा पठाइएको छ । बाँकी ६१ हजार ५ सय ५ रुपैयाँ भने प्रत्यक्ष रूपमा सोही कोषमा जम्मा गरिएको प्याब्सन पाल्पाले जनाएको छ । गत भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि प्याब्सन पाल्पाले दुःख व्यक्त गर्दै पीडितप्रति ऐक्यबद्धता जनाएको थियो । बाढीमा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ । साथै, घरबारविहीन, घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । राहत रकम प्याब्सन पाल्पाअन्तर्गतका सदस्य विद्यालय, शिक्षक, कर्मचारी तथा विद्यार्थीबाट स्वतःस्फूर्त रूपमा सङ्कलन गरिएको हो । विपद्को समयमा संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले विद्यालय तहदेखि नै सहयोग अभियान सञ्चालन गरिएको प्याब्सनले जनाएको छ । प्याब्सन पाल्पाका अध्यक्ष डाँसुराम पन्तले विपत्तिको समयमा पीडित नागरिकलाई सहयोग गर्नु सबैको मानवीय दायित्व भएको बताए । “हाम्रो यो सानो संस्थागत प्रयासले बाढीबाट प्रभावित भएका दाजुभाइ तथा दिदीबहिनीहरूको राहत र पुनःस्थापनामा थोरै भए पनि मलमपट्टी लगाउन सहयोग पुग्नेछ भन्ने विश्वास लिएका छौँ,” उनले भने ।
त्यस्तै, प्याब्सन पाल्पाका सचिव गंगा बहादुर खत्रीले विपद्का बेला सहयोग गर्ने सबै सदस्य विद्यालय, शिक्षक, कर्मचारी तथा विद्यार्थीप्रति आभार व्यक्त गरे । “सामाजिक र मानवीय भावना जागृत गराउनु पनि शिक्षाको महत्वपूर्ण अङ्ग हो । भविष्यमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यमा प्याब्सन पाल्पा सधैँ अग्रपङ्क्तिमा रहनेछ,” उनले भने ।


