पाल्पा, मेगा बैंक नेपाल र नेपाल इन्भेष्टमेण्ट बैंक मर्जर प्रक्रियामा गएका छन् । मेगा बैंकको वार्षिक साधारण सभाले नेपाल इन्भेष्टमेण्ट बैंकसँगको मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गरेसँगै मर्जर प्रक्रियामा गएका हुन् । दुवै बैंक एक आपसमा गाभिई संयुक्त कारोबार गर्ने, बैंकको नाम नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड रहने बताइएको छ ।
साधारणसभामा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले मर्जरपछि नाम र काम अनुसारको गरिमालाई उचो बनाउन दुवै बैंकमा रहेका असल परम्परा संस्कार, ग्राहकको सेवा, कर्मचारीको मिलान र व्यवस्थापन तथा सेयरधनीको जेथा र लाभांशमा न्यायोचित वृद्धि र निरन्तरता दिइने विश्वास व्यक्त गरे । मूल्यांकनकर्ताबाट प्राप्त दुवै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदन अनुसार संयुक्त मर्जर समितिको सिफारिसमा मेगा बैंकको सञ्चालक समितिले स्वीकृत गरेबमोजिम मेगाको १०० कित्ता सेयर बराबर बैंकका सेयरधनीलाई मर्जरपछि बन्ने बैंकको ९० कित्ता सेयर प्राप्त हुनेगरी सेयर आदानप्रदान अनुपातमा एक आपसमा गाभ्ने/गाभिने (मर्जर) कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गर्ने निर्णय गरेको थियो ।
यस्तै मेगा बैंक नेपालको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा तुल्सीराम पोखरेल नियुक्त भएका छन् । मेगा बैंक सञ्चालक समितिले ९ पुसदेखि लागू हुने गरी पोखरेललाई बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ) नियुक्त गरेको हो । विगत २७ बर्षदेखि नेपालको बैंकिङ सेवामा समर्पित पोखरेल मेगा बैंकको परिकल्पनाकार र १४ जना संस्थापकमध्ये एक हुन् । बैंक सञ्चालनमा आउनुभन्दा अघि नै १ वैशाख २०६७ बाट पूर्वसञ्चालन अवस्थाको कार्यकारी प्रमुख बनेर प्रस्तावित बैंकको दर्ता, लाइसेन्स लिने तथा बैंकका लागि आवश्यक पूर्वाधार तयार पार्ने कामको नेतृत्व गर्दै मेगा बैंकमा सेवा प्रारम्भ गरेका पोखरेल बैंकको सहायक महाप्रबन्धक, नायब महाप्रबन्धक, वरिष्ठ नायब महाप्रबन्धक हुँदै कामु सीईओ बनेका हुन् ।