Shittalpati
तानसेन सहकारीमा नयाँ नेतृत्व, अध्यक्षमा पोखरेल

कृष्ण पोखरेल
पाल्पा, तानसेन बचत तथा ऋण तथा सहकारी संस्था लिमिटेड तानसेन पाल्पामा नयाँ नेतृत्व आएको छ । संस्थाको तानसेनमा भएको १४ औं साधारण सभा तथा छैठौं अधिवेशनबाट नयाँ नेतृत्व आएको हो ।

अधिवेशनले भोजराज पोखरेल (रामजी) को नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा शान्ती बस्याल पाण्डेय, सचिवमा धनिश्वर बस्याल, कोषाध्यक्षमा दिपक विश्वकर्मा रहेका छन् । यसैगरी सदस्यहरुमा प्रेम बहादुर मल्ल, शम्भु प्रसाद पौडेल, भरत प्रसाद न्यौपाने, डवकला राउत, तुल्सी गैरे घिमिरे, टोप बहादुर गाहा, पदम गैरे, रमेश खनाल र उत्सवी ढकाल रहेको छन् । यसैगरी अधिवेशनबाट लेखा समितिको संयोजकमा गुराँश आत्रेय, सदस्यमा अम्विका बस्याल पाठक र जीवनाथ गैरे चयन भएको निर्वाचन कमिटीका संयोजक जोगलाल विश्वकर्माले बताए ।

अधिवेशनको नव निर्वाचित प्रतिनिधिसभा सदस्य नारायाण प्रसाद आचार्यले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै उनले जनताका स–साना आधारभुत आवाश्यकताहरु सहकारीले पुरा गर्दै आएको बताए । सहकारीहरु जनताको आयआर्जन र रोजगारीसँग जोडिने गरी काम गर्नु पर्ने संघीय सांसद आचार्यले जोड दिए । सहकारीहरुले ग्रामिण क्षेत्रको अर्थतन्त्र चलायमान हुने गरी नयाँ–नयाँ योजना बनाएर काम गर्नुपर्ने सांसद आचार्यले बताए । अहिले सबैजसो सहकारीहरुले परम्परागत काम मात्र गरेको तर नयाँ–नयाँ विषयमा ध्यान नदिएको सांसद आचार्यले जोड दिए । नव निर्वाचित सांसद आचार्यले पाल्पाको हरेक किसिमको विकास निर्माणमा प्राथमिकताका साथ काम गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रमममा जिल्ला सहकारी संघका अध्यक्ष भुपती पाण्डेले सहकारीहरुले यति नाफा कमाए भन्नु भन्दा पनि यति द्यमी बनाए, यतिको संख्यामा रोजगारी दिए, यति शेयर सदस्यहरुको आम्दानी बृद्धि भयो भन्ने गरी काम गर्नुपर्नेमा जोड दिए । जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगदीश भट्टराईले सहकारीमा दोहोरो सदस्यताको जति सक्दो चाडो अन्त्य गर्नुपर्नेमा जोड दिए । दोहोरो सदस्य कायम रहेसम्म सहकारीहरुले आफ्नो शेयर सदस्य पहिचान गर्न नसक्ने र शेयर सदस्यका कारोबारहरु भद्रगोल हुँदै गएकाले सहकारीमा शुुद्धिकरण अभियानलाई सबैले पहिलो प्राथमिकता दिएर काम गर्नुपर्ने अध्यक्ष भट्टराईले बताए । अहिले राष्ट्रबैकको आँखा सहकारीतर्फ गएकाले, सबै कारोबारलाई कम्प्युटर प्रविधीमा समावेश गरी एकिकृत रुपमा अनुगमनको तयारी भएको अध्यक्ष भट्टराईले बताए । कार्यक्रममा पूूर्व अध्यक्षहरु देवी प्रसाद बस्याल, धनेन्द्रराज घिमिरे, शेयर सदस्यहरु गीता पाण्डे, सन्तोष खनाल लगायतले सहकारीले खेलेको भूूमिकाको बारेमा चर्चा गरेका थिए । सोही अवसरमा उत्कृष्ट बचतकर्ताको रुपमा शेयर सदस्य बामदेव बस्याललाई सम्मान गरिएको छ ।

साधारणसभामा अध्यक्ष भेषराज सुवेदीले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष धनिश्वर बस्यालले आर्थिक प्रतिवेदन, लेखा समितिका संयोजक भरत न्यौपानेले लेखा प्रतिवेदन पेश गरेका थिए । संस्थामा हालसम्म १ हजार ३६ जना शेयर सदस्य रहेका छन् भने आव २०७८÷ ०७९ मा १४ लाख रुपैयाँ खुद नाफा भएको छ । संस्थाको शेयर पुँजी ९९ लाख ९० हजार, बचत १० करोड ४१ लाख, कुल पुँजी १३ करोड ४५ लाख, कुल कारोवार ८ करोड ३५ लाख, ऋण लगानी १२ करोड ४३ लाख ८४ हजार, ऋण असुली २ करोड ९० लाख ६८ हजार, कुल आम्दानी १ करोड ४९ लाख रुपैया रहेको कोषाध्यक्षको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थाका अध्यक्ष भेषराज सुवेदीको अध्यक्षता, उपाध्यक्ष युवराज पन्तको स्वागत र सचिव रामजी पोखरेलको सञ्चालनमा उद्घाटन सत्र कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update