पाल्पा, सानिमा बैंक तानसेन शाखाले रक्तदान कार्यक्रम गरेको छ । बैंकले स्थापनाको १८ औँ वार्षिकोत्सवको अवसर पारेर बुधबार तानसेनमा रक्तदान कार्यक्रम गरेको हो ।
बैंकले नेपाल रेडक्रस सोसाइटी पाल्पा, लुम्बिनी मेडिकल कलेज प्रभासको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । वित्तिय क्षेत्रमा काम गर्दै आएको बैंकले रक्तदान कार्यक्रम गरेर प्रशंसनिय कार्य गरेको रेडक्रस पाल्पाका सभापति बुद्धिप्रसाद शर्माले बताए । उनले रक्तदान नै जीवनदान हो भन्ने अभिप्रायले बैंकले सामाजिक उत्तरदायित्व वहन गरेको भन्दै बैंकको सामाजिक कार्यक्रमा आफुहरु पनि सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । रक्तदान जस्तो पूण्य काममा सरिक हुन सभापति शर्माले सबैलाई आग्रह समेत गरे । उनले भने ‘एक थोपा रगतले कसैको ज्यान सुरक्षित हुन्छ भने रक्तदान किन नगर्ने ? दान जस्तो अर्को कुनै पूण्य काम छैन ।’ जिल्लामा आवश्यक रगतको अभाव हुन नदिन सहयोग पु¥याउने उद्देश्यले वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकका शाखा प्रवन्धक निरोज प्रधानले बताए । उनले भने ‘हामी वित्तिय कारोबारसँगै सामाजिक उत्तरदायित्वलाई पनि सँगसँगै अगाडि बढाएका छौं ।’ देशैभर नै बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको उनले बताए । यहाँ ज्योति विकास बैंकका टेकबहादुर भाटले पहिलो पटक रक्तदान गरेका थिए ।
कार्यक्रममा विभिन्न क्षेत्रका २४ जना व्यक्तिहरुले रक्तदान गरेको बैंकका कर्जा विभाग प्रमुख कमल श्रेष्ठले बताए । उनका अनुसार रक्तदान गर्न धेरै व्यक्तिहरुको उपस्थित भए पनि विविध कारणले नमिलेको बताए । कार्यक्रममा संकलन भएको रगत लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको छ ।
कलेजबाट आएका ल्याव टेक्निसियनहरु जनक धामी, अरुण कार्की, सुजन रावल र प्रजिस बज्राचार्यले कार्यक्रममा प्राविधिक सहयोग गरेका थिए । बैंकले वार्षिकोत्सवको अवसरमा पाल्पा सहित देशैभर रक्तदान कार्यक्रम गर्दै आएको छ । स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति लगायतका विभिन्न कार्यक्रम गर्दै आएको बैंकले जनाएको छ । उसले हाल देशका सातै प्रदेशमा एक सय ३० कार्यालय र एक सय २३ एटिएममार्फत सेवा दिइरहेको जनाएको छ ।