Shittalpati
विकास बैंकहरूले निक्षेपको ब्याज घटाए

पाल्पा, विकास बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । डेभलपमेन्ट बैंकर्स एसोसिएसनको बैठकले मंसिरका लागि ब्याजदर घटाउने निर्णय गरेको हो । उसले कात्तिक महिनाको तुलनामा मंसिरमा ब्याजदर घटाउने निर्णय गरेको जनाएको छ । जसअनुसार मंसिरमा एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा विकास बैंकहरुले अधिकतम १२.८५ प्रतिशत ब्याजदर प्रदान गर्नेछन् ।

कार्तिकमा यस्तो ब्याजदर अधिकतम १३ प्रतिशत थियो । ब्याजदर बढाएर मात्र धेरै निक्षेप नआउने र समग्र वित्तीय प्रणालीको ब्याजदर कम गर्ने क्रममा सहयोग गर्ने उद्देश्यले मंसिरका लागि निक्षेपको ब्याजदर कम गर्ने निर्णय भएको डेभलपमेन्ट बैंकर्स एसोसिएसनले जनाएको छ । पछिल्लो निर्णय अनुसार विकास बैंकहरुले मंसिरमा एक वर्षे संस्थागत मुद्दती निक्षेपमा १०.८५ र साधारण बचतमा न्यूनतम ७.८५ प्रतिशत ब्याजदर प्रदान गर्नेछन् । यसअघि बसेको वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनले भने मंसिरका लागि हालकै ब्याजदरलाई यथावत् राख्ने निर्णय गरेको छ । ब्याज बढाएर मात्र निक्षेप नबढ्ने र लागत मात्र बढ्ने भएकाले मंसिरमा ब्याजदर स्थिर राख्नु परेको एसोसिएसनले जनाएको छ । बैंकहरुले अहिले व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत र संस्थागततर्फ नौ दशमलव १३ प्रतिशत ब्याज प्रदान गरिरहेका छन् । गत वर्षको चैतदेखि गत असोजसम्म मासिक पूर्ववत् ब्याजदरमा १० प्रतिशतका दरले निक्षेपको ब्याजदरमा वृद्धि गर्ने निर्णय गरिएको थियो । गत भदौसम्म व्यक्तिगत मुद्दती निक्षेपमा ११ दशमलव शून्य ३ प्रतिशत तथा संस्थागत मुद्दती निक्षेपमा नौ दशमलव शून्य तीन प्रतिशत ब्याजदर रहेको थियो । राष्ट्र बैंकको निर्देशन अनुसार आउने महिनाका लागि बैंक तथा वित्तीय संस्थाले यो महिनाको मसान्तअघि नै ब्याजदर प्रकाशित गर्नुपर्छ । प्रकाशित ब्याजदर एक महिनासम्म परिमार्जन गर्न पाइँदैन ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update