पाल्पा, वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर नबढाउने भएका छन् । मंगलबार बसेको वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले मंसिरमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेका हुन । आम रुपमा बैंकको ब्याजदर घटाउनुपर्ने माग उठ्दै आए पनि बैंकहरुले भने नबढाउने अडान कायमै राखेका छन् । उनीहरुले कात्तिक महिनाकै बराबर ब्याजदर प्रकाशित गर्ने योजनामा छन् ।
ब्याज बढाएर मात्र निक्षेप नबढ्ने र लागत मात्र बढ्ने भएकाले मंसिरमा ब्याजदर स्थिर राख्नु परेको संघले जनाएको छ । निक्षेपको ब्याज बढ्दा कर्जाकोसमेत ब्याज बढ्न जाने भएकाले अर्थतन्त्रका अन्य क्षेत्रमा चाप पर्दै आएको छ । ब्याजदर बढ्दा आर्थिक क्षेत्रमा चाप परेको र लगानीको वातावरण क्रमशः बिग्रदै गएको भन्दै उद्योगी, व्यवसायीहरुको संस्थाहरुले ब्याजदर तत्काल घटाउन माग गरिरहेका छन् । बैंकहरुले अहिले व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत र संस्थागततर्फ नौ दशमलव १३ प्रतिशत ब्याज प्रदान गरिरहेका छन् । गत वर्षको चैतदेखि गत असोजसम्म मासिक पूर्ववत् ब्याजदरमा १० प्रतिशतका दरले निक्षेपको ब्याजदरमा वृद्धि गर्ने निर्णय गरिएको थियो । गत भदौसम्म व्यक्तिगत मुद्दती निक्षेपमा ११ दशमलव शून्य ३ प्रतिशत तथा संस्थागत मुद्दती निक्षेपमा नौ दशमलव शून्य तीन प्रतिशत ब्याजदर रहेको थियो । राष्ट्र बैंकको निर्देशन अनुसार आउने महिनाका लागि बैंक तथा वित्तीय संस्थाले यो महिनाको मसान्तअघि नै ब्याजदर प्रकाशित गर्नुपर्छ । प्रकाशित ब्याजदर एक महिनासम्म परिमार्जन गर्न पाइँदैन । यस्तै, निक्षेपमा नियमविपरीत बढी ब्याज दिने वाणिज्य बैंकहरूलाई नेपाल राष्ट्र बैंकले कारबाहीको तयारी गरेको छ । प्रिमियममार्फत कर्जामा सेवाग्राहीबाट बढी ब्याज असुलेका बैंकहरूलाई उक्त रकम फिर्ता गर्न निर्देशन दिँदै आएको राष्ट्र बैंकले निक्षेपमा बढी ब्याज दिने बैंकहरूलाई पनि कारबाहीको तयारी थालेको हो ।