पाल्पा, कुमारी बैंक लिमिटेडले सेयरधनीलाई लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकले बाइसौँ वार्षिक साधारणसभामार्फत सेयरधनीलाई १२ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई साधारण सभाबाट पारित गरेको बैंकले जनाएको छ । लाभांश सहित साधारणसभाले अँय प्रस्ताव पनि पारित गरेको छ । उसले आव २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आब २०७८/७९ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आव २०७९/८० को लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत पारित गरेको हो । १४ अर्ब ७१ करोड चुक्ता पूँजी रहेको बैंकले आब २०७९/८० को प्रथम त्रैमाससम्म १ खर्व ७३ अर्ब निक्षेप संकलन गरी १ खर्ब ६१ अर्ब कर्जा, सापटी तथा अधिविकर्ष पुर्याएको छ । यस अवधिमा बैंकले १ अर्ब १४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यसै बिच बैंकले अनलाइन सपिङपोर्ट लदराज केयमु प्रालिबीच बैंकमा खाता रहेका ग्राहकलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ । यो योजना ११ नोभेम्बरदेखि लागू हुने बताइएको छ । उक्त सम्झौता पत्रमा बैंककोतर्फबाट डिजिटल बैंकिङका प्रमुख अनिष ताम्राकार र दराजको पेमेन्ट र पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् । बैंकले आफ्ना ग्राहकलाई यस सहकार्यमार्फत दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा कुमारी बैंकको डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २ हजार पाँच सयसम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा तीन हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने बताइएको छ । बैंकमा खाता रहेका ग्राहकले माथि उल्लिखित पूर्व भुक्तानी छुटहरू अभियानको अवधिमा सीमित अवधिका लागि मात्र हुने कम्पनीले जनाएको छ । बैंकले हाल देशभरमा एक सय ९९ शाखा, ३४ एक्सटेन्सन काउन्टर तथा एक सय ९५ एटिएममार्फत सेवा दिइरहेको जनाएको छ ।