Shittalpati
चुनावले पेट्रोलको खपत वृद्वि

पाल्पा, मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन मिति नजिकिएसँगै पेट्रोलको खपतमा समेत वृद्धि भएको छ । चुनाव प्रचारका क्रममा सवारी साधनको प्रयोग बढेकाले पेट्रोलियमको खपत वृद्धि भएको हो । सामान्य अवस्थाभन्दा चुनावको बेला पेट्रोलियमको खपत बढ्ने गर्छ ।
चुनावमा जित्ने आशमा उठेका उम्मेदवारले बुताले भ्याएसम्म खर्च गर्छन् । यस्ता कुपनको आधारमा इन्धन लिने कार्यकर्ताको स्थानीय पेट्रोल पम्पमा जुलुसै हुने गर्छ । इन्धनको बढी प्रयोग पनि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उम्मेदवार र उनका कार्यकर्ताले गर्छन् । नेपाल आयल निगमका अनुसार गत वर्ष असोज महिनाको तुलनामा यो असोजमा पेट्रोलको खपत २८ प्रतिशतले बढेको छ । २०७८ असोजमा ४६ हजार ३ सय ५३ किलोलिटर बिक्री भएको पेट्रोल २०७९ असोजमा ५९ हजार १ सय ८१ किलोलिटर बिक्री भएको हो । डिजेलको खपत भने गत वर्ष र यो वर्षको असोजमा बराबरजस्तै छ । गत वर्षको असोजमा ८२ हजार ६ सय ४ किलोटिर खपत भएकोमा यो असोजमा ८२ हजार ६ सय ८९ किलोलिटर डिजेल खपत भएको छ । चुनाव लागेपछि पेट्रोलको माग केही बढेको निगमको बिक्री वितरण विभागले जनाएको छ । एक सातामा अझ बढ्न सक्ने निगमको अनुमान छ । कात्तिक र मंसिर महिनामा पनि बिक्री थप बढ्न सक्ने देखिन्छ ।

भारतबाट पछिल्लो समय इन्धनको मूल्य बढेर आए पनि नेपाल आयल निगमलाई आगामी पाक्षिक अवधि (१५ दिन)मा १८ करोड नाफा रहने भएको छ । निगमलाई भारतीय आयल कर्पाेरेसन (आईओसी)ले दुई दिनअघि इन्धनको मूल्य बढाएर सूची पठाएको छ । जसअनुसार पेट्रोल प्रतिलिटर ६१ पैसा, डिजेल ५ रुपैयाँ ७६ पैसा, मट्टितेल ७ रुपैयाँ १ पैसा र हवाई इन्धन ४ रुपैयाँ ७७ पैसा बढेर आएको छ । नयाँ मूल्यसूचीअनुसार निगमलाई डिजेलमा प्रतिलिटर १२ रुपैयाँ १४ पैसा नोक्सान हुने भएको छ । पेट्रोल, हवाई इन्धन र मट्टितेलमा नाफा रहेकाले समग्रमा निगमलाई पाक्षिक १८ करोड नाफा रहने भएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दो क्रममा देखिएको, डलरसँग नेपाली मुद्रा कमजोर भएकाले हाललाई इन्धनको मूल्य घटाउन नसकिने निगमले स्पष्ट पारेको छ । हाल पेट्रोल प्रतिलिटर १ सय ८१ तथा डिजेल र मट्टितेल प्रतिलिटर १ सय ७८ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update