पाल्पा,शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक तानसेन शाखाले जिल्लाको रम्भा गाउँपालिका १ हुँगीमा वृक्षारोपण गरेको छ । बैंकले आफ्नो १४ औं वार्षिक उत्सव तथा सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत हुुँगीस्थित जनकल्याण माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण गरेको हो ।
वित्तिय कारोवारसँगै सामाजिक कार्यमा उल्लेखीय काम गर्दै आएको बैंकले फलफूल तथा अन्य वनस्पतीजन्य एक सय विरुवाहरु रोपण गरेको छ । देशभर नै १४ हजार विरुवा रोपण गर्ने लक्ष्य अनुसार हुँगीमा एक सय विरुवा रोपण गरिएको बैंक तानसेन शाखाका शाखा प्रबन्धक उप्रेन्द्र बस्यालले बताए । उनले भने ‘हामी वित्तिय कारोबारसँगै सामाजिक संस्थागत उत्तरदायित्वलाई पनि सँगसँगै अगाडि बढाएका छौं, बैंकको तानसेनमा शाखा भए पनि पूर्वी क्षेत्रमा बैंकको उपस्थिति जनाउनको लागि पनि हुुँगीमै पुुगेर हामी विरुवा रोपेका हौं ।’ विद्यालय परिसरमा रोपिएका सम्पूर्ण विरुवाहरुको रेखदेख र संरक्षण विद्यालयले नै गर्ने प्रवन्धक बस्यालले बताए । उनले विद्यालयलाई हरियाली, वातावरणमैत्री र विद्यार्थीमा वृक्षारोपण गर्नुपर्छ भन्ने ज्ञान समेत प्रवाह हुने विश्वास व्यक्त गरे ।
विद्यालयका प्र.अ. लक्ष्मण अधिकारीले विद्यालयले गर्नु पर्ने काम बैंकले विद्यालयमै आएर वृक्षारोपण गरिदिएकोमा खुसी व्यक्त गर्दै विरुवाको संरक्षण र रेखदेख विद्यालय आफैले गर्ने बताए । पछिल्लो समय मानव विकाससँगै बोटविरुवाहरुको विनास हुँदै गएको अवस्थामा बैंकले वृक्षारोपणको अभियान ल्याएर प्रसंशनिय काम गरेको विद्यालयका शिक्षकहरुको भनाई छ ।
विरुवा रोपणमा रोट्रयाक क्लव अफ पाल्पा तानसेनका कोषाध्यक्ष बालकृष्ण बस्याल, बैंकका कर्मचारी, शिक्षक, विद्यार्थीहरु समेतको सहभागिता रहेको थियो । बैंक तानसेन शाखाले विगतदेखि नै सामजिक संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तर्गत वित्तिय साक्षरता, सरसफाई, वृक्षारोपण जस्ता कार्यक्रम गर्दै आएको छ । उसले बैकिङ्ग सेवामार्फत ग्राहकलाई सहज, सरल र प्रभावकारी रुपमा सेवा प्रदान गर्दै बैंकिङ पहुँचभन्दा बाहिर रहेका नागरिकहरूलाई सहजै बैंकको पहुँचमा ल्याउने कार्यमा महत्वपूर्ण योगदान पु¥याएको छ । ८६ वटा शाखा कार्यालय, एक वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएममार्फत बैंकिङ्ग सेवा प्रवाह गर्दै आइरहेको बैंकका लुम्बिनी प्रदेशमा मात्र ७१ वटा शाखा कार्यालयहरु रहेका छन् ।