पाल्पा,तानसेनमा रहेको मणिमुकन्द बचत तथा ऋण सहकारी संस्थाले २१ औंं साधारण सभा मनाएको छ । सहकारीले एक औपचारिक कार्यक्रमको आयोजना गरी साधरण सभा मनाएको हो । सभाको प्रमुख अतिथि तथा तानसेन नगरपालिकाका उप प्रमुख प्रतिक्षा सिंजालीले उद्घाटन गरेकी हुन् ।
सभाको उद्घाटन गर्दै प्रमुख अतिथि सिंजालीले जिल्लाको वित्तिय क्षेत्रमा सहकारीले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताइन् । उनले सहकारीहरुको समस्या समाधानमा नगर सरकार सधैं लागि परेकाले ढुक्क भएर काम गर्न समेत सहकारीलाई आग्रह गरिन् । सहकारीको विकास र विस्तारका क्रममा सहकारीमा देखापर्ने समस्या समाधानमा सधंै नगर सरकार सहजीकरणको माध्यम बनेको उनको भनाई छ । उप प्रमुख सिंजालीले भनिन् ‘हामी सहकारीलाई दीगो र सहकारी मैत्री बनाउन विभिन्न ऐन, कानुनहरु निर्माण गरेका छौं, सोही अनुसार सहकारी अगाडि बढ्नुपर्छ । सहकारीलाई समस्या परेको खण्डामा नगर सरकारले ऐन संशोधन गरेर भएपनि सहजीकरण गर्नेछ ।’ उनले शेयर सदस्यहरु सहकारीका मालिक भएकाले सहकारीलाई कस्तो बनाउने भन्ने कुरा उनीहरुमै निर्भर रहने भएकाले सहकारी प्रति जागरुक र क्रियाशिल बन्न शेयर सदस्यहरुलाई आग्रह गरिन् । कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष मधुदयाल सैजुले सहकारीले स–सानो पुँजीलाई एकृत्रित गर्दै आएको बताए । उनले गरिव, विपन्नहरुका लागि सहकारीले सहुलियतमा ऋण समेत प्रदान गर्दै आएको बताए ।
कार्यक्रममा संस्थाका अध्यक्ष सुरेन्द्र मुनी शाक्यले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको मूल्य मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै सहकारी अगाडि बढेको बताए । उनले आगामी दिनमा सहकारीको शेयर पुँजी वृद्धि गर्दै जाने पनि बताए । सहकारीका कोषाध्यक्ष अजय बहादुर श्रेष्ठले संस्थाको आर्थिक वर्ष २०७८/०७९ आयव्यय प्रस्तुत गरेका थिए । उनले आर्थिक वर्षको ३९ करोड ४९ लाख ७ हजार १ सय १३ बराबरको आय–व्यय प्रस्तुत गरेका हुन् । संस्थाका अध्यक्ष सुरेन्द्र मुनि शाक्यको अध्यक्षता, उपाध्यक्ष शुसिल प्रधानको स्वागत, सचिव सञ्जयराज शाक्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।