पाल्पा, वैदेशिक रोजगारमा रहेका नेपालीहरुले अब १० प्रतिशत आइपीओ पाउने भएका छन् । संगठित संस्थाले सर्वसाधारणलाई निस्कासन गर्नुअघि नै १० प्रतिशत आईपीओ विदेशमा रोजगार गरिरहेका नेपालीका लागि छुट्ट्याउनुपर्ने व्यवस्था लागू भएसँगै उनीहरुले १० प्रतिशत आइपीओ पाउने भएका हुन् ।
नेपाल धितोपत्र बोर्डले बिहीबारदेखि नै यो व्यवस्था कार्यान्वयनमा आएको जनाएको छ । बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकालाई संशोधन गरी यस्तो व्यवस्था गरेको हो । ‘श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीका लागि संगठित संस्थाले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्कासन गर्नुअगावै सेयरको १० प्रतिशत छुट्ट्याउनु पर्नेछ,’ संशोधित निर्देशनमा भनिएको छ । बोर्डमा स्वीकृति हुने सबैखाले संस्थाले यसलाई अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने धितोपत्र बोर्डले जनाएको छ । तर यो सुविधा प्राप्त गर्ने वैदेशिक रोजगारकर्ताले निष्कासित सेयरमा आवेदन दिँदा बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलनसम्बन्धी कार्य गर्न बैंक वा वित्तीय संस्थामा रहेको विप्रेषण बचत खाता खोलेर नेपालमा पैसा पठाएको हुनुपर्छ ।
सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर विदेशमा रोजगार गरिरहेका नागरिकले ‘विप्रेषण बचत खाता अनिवार्य रूपमा खोल्नुपर्दछ । उक्त रेमिट्यान्स बचत खातामा पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार नेपाली रुपैयाँ सम्बन्धित व्यक्तिले आफू रोजगार रहेको मुलुकबाट जम्मा गरेकाले मात्रै यो सुविधा उपयोग गर्न पाउनेछन् । चालू आवको बजेटले पनि वैदेशिक रोजगारमा गएकालाई आईपीओको व्यवस्था गर्ने घोषणा गरेको थियो ।