Shittalpati
मेगा बैंकले ल्यायो भू–सेवा केन्द्र

पाल्पा, मेगा बैंक नेपालले पहिलो पटक भू–सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकलाई घर, जग्गा, अपार्टमेन्टको रोक्का तथा फुकुवा कार्य सहज रुपमा उपलब्ध गराउने उद्देश्यले भू–सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागसँगको समन्वयमा भू–सेवा केन्द्र सञ्चालन निर्देशिका, २०७६ तथा भू–सेवा केन्द्र सञ्चालन निर्देशिका (पहिलो संशोधन), २०७८ बमोजिम भू–सेवा केन्द्र सञ्चालनको अनुमति लिई घर, जग्गाको रोक्का तथा फुकुवा गर्ने कार्यको सुरुवात गरिएको बैंकले जनाएको छ ।

अनलाइन प्रणाली मार्फत धितो बन्धक रोक्का, रोक्का फुकुवा गर्ने काम हुने छ । घर, जग्गाको रोक्का तथा फुकुवाका लागि बैंकको प्रतिनिधि, जग्गा धनी तथा ऋणी सम्बन्धित मालपोत कार्यालयहरुमा उपस्थित नभई बैंककै भू–सेवा केन्द्रमा उपस्थित भई आवश्यक कागजपत्रहरु अनलाइन मार्फत पेश गरे पुग्नेछ । बैंकबाट रोक्का तथा फुकुवा कार्य गर्न सकिने हुँदा बैंक, सेवाग्राही तथा सम्बन्धित मालपोत कार्यालयहरुलाई समेत रोक्का तथा फुकुवा कार्यमा सहजीकरण हुने विश्वास बैंकको छ । यसबाट सेवाग्राही तथा बैंकको समय तथा लागतको समेत बचत हुन गई समयमा नै बैंकिङ्ग सुविधा उपभोग गर्न सकिनेछ भने मालपोत कार्यलयहरुमा समेत बैंकको रोक्का तथा फुकुवा कार्यका लागि सेवाग्राहीहरुको भीडमा कमी आई अझै प्रभावकारी ढंगबाट विश्वासनीय सेवा प्रवाह गर्ने वातावरण सिर्जना हुने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update