भैरहवा, भैरहवाका उद्योगी व्यवसायी विरोधमा उत्रिएका छन् । राष्ट्र बैंक र बैंकहरुका नीतिका कारण उनीहरु आफूहरु मारमा परेको भन्दै विरोधमा उत्रिएका हुन् ।
उद्योगी व्यवसायीहरुले नवलपरासीमा बैंकविरुद्ध प्रर्दशन गरेका थिए । कार्तिक महिनाबाट लागू हुनेगरी बैंकहरुले ब्याजदर बढाएको विरोधमा उनीहरुले प्रदर्शन उत्रिएका छन् । रुपन्देहीको व्यापारिक हब भैरहवामा कालोट्टी सहित सडक प्रदर्शन गरिएको रुपन्देही उद्योग वाणिज्य संघले जनाएको छ । उच्च ब्याजदरका साथै एकपछि अर्को नीति ल्याएर उद्योगी व्यवसायी कस्ने नीति बैंकले गरेकोले बैंक विरुद्ध आन्दोलनमा उत्रिनु परेको संघले जनाएको छ । यस भेगका उद्योगी व्यवसायीहरुको सबै संस्था एक भएर बैंक र राष्ट्र बैंकको नीतिविरुद्ध उत्रिएको रुपन्देही उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले बताए । उनीहरुले राष्ट्र बैंक भैरहवा कार्यालयमा ज्ञापन पत्र समेत बुझाएका छन् । बैंकहरुले एक पछि अर्को बहानामा ब्याज बढाएको र व्यवसायीलाई कस्दै लगेको संघले जनाएको छ ।
बैंकका कारण उद्योगी व्यवसायीहरुलाई टिक्नै नसक्ने अवस्था आएपछि आन्दोलनका लागि बाध्य हुनु परेको संघले जनाएको छ । उनीहरुले कर्जाको महँगो ब्याजदरले आफूहरु मर्कामा परेको र यसले बजारमा महँगी समेत बढ्न गई सर्वसाधारणलाई समेत मूल्यवृद्धिको ठूलो असर पर्ने चेतावनी दिइएका छन् । ब्याजदर वृद्धि तथा कर्जा प्रवाह सम्बन्धी राष्ट्र बैंकले लिएको नीतिले थप उद्योगी तथा व्यवसायी पालयन हुने निश्चित देखिन्छ संघको बुझाई छ । बैंकले एकलौटी रुपमा गरेको ब्याजदर वृद्धि खारेजको माग गरिएको छ ।