पाल्पा, इन्धनको खरिद मूल्य फेरि बढेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पठाएको नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढेर आएको हो । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी)ले निगमलाई पठाएको मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ ७४ पैसा, डिजेल १५ रुपैयाँ ६० पैसा र हवाई इन्धन १० रुपैयाँ २५ पैसा बढेर आएको छ । बढेर आएको नयाँ मूल्य सूचीअनुसार अब निमगलाई डिजेलमा प्रतिलिटर ६ रुपैयाँ ३४ पैसा नोक्सान हुने भएको छ । पेट्रोल तथा हवाई इन्धनमा भने निगम नाफामा छ । ग्यासमा प्रतिसिलिण्डर ३ सय २५ रुपैयाँ नोक्सान रहेको निगमले जनाएको छ ।
समग्रमा आगामी १५ दिनमा (पाक्षिक) निगमलाई ३९ करोड नाफा रहने भएको छ । निगम २० महिनाको अन्तरालपछि पुनः नाफामा गएको हो । यद्यपि पहिलेको सञ्चिति नोक्सानलाई देखाउँदै निगमले भारतबाट इन्धनको मूल्य घटेर आउँदा पनि नेपालमा समायोजन गरेन । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्नु र डलरसँग नेपाली मुद्रा कमजोर हुँदा इन्धनको भाउ बढेको निगमले प्रष्ट्याएको छ ।
दसैंका बेला पेट्रोलियम पदार्थको खपत अत्याधिक बढेको थियो । दसैंका बेला सडकमा सार्वजनिक तथा निजी सवारीसाधनको चाप बढ्ेकाले पेट्रोल र डिजेलको खपत बढ्नु स्वभाविक रहेको निगमले जनाएको छ । साउन महिनामा देशभर कुल ५१ हजार ६ सय ३० किलोलिटर पेट्रोल र ७६ हजार ४० किलोलिटर डिजेल खपत भएकोमा असोजको आधा आधी सम्म मात्रै कुल २० हजार ८ सय ३२ किलोलिटर पेट्रोल र ३२ हजार ८ सय ६२ किलोलिटर डिजेल खपत भएको निगमको तथ्यांक छ ।