Shittalpati
डेंगु नियन्त्रणमा उदासीनता

डेंगुबाट आइतबार एकैदिन एक हजार एक सय ११ जना संक्रमित भएका छन् । अहिलेसम्म ४० हजार भन्दा बढीमा डेंगुु संक्रमण देखिएको छ । साउन महिना यता संक्रमणबाट ४८ जनाको ज्यान गइसकेको छ । जसले भयावह अवस्थालाई नै प्रकट गरिरहेको छ । ७७ वटै जिल्लामा संक्रमण फैलिएर मृतकको संख्या बढे पनि सतर्कता भने देखिएको छैन । संक्रमण नियन्त्रणका लागि तीनै तहका सरकार उदासीन छन् । स्वास्थ्य विज्ञहरूले डेंगु जोखिम कायम रहेको भन्दै तीनै तहका सरकारलाई सतर्कता अपनाउन आग्रह गरे पनि बेवास्था गरेको प्रष्ट देखिन्छ । चाडपर्वको समयमा यसको संक्रमण अझै फैलदै छ । त्यसलाई न्यूनीकरण गर्ने सरकारको अभ्यास भने त्यति प्रभावकारी देखिइरहेको छैन । दिनानुदिन आमनागरिक डेंगुुको संक्रमणबाट पीडित छन् । अस्पतालहरु डेंगुुका बिरामीहरुले भरिँदै गएका छन् । उपचार गर्ने र गर्न नसक्ने बिरामीहरुको अवस्था यातनाप्रद बन्दै गैरहे पनि सरकार नागरिकहरुले भोगिरहेको उक्त कष्टप्रति उदासीन छ । यो अत्यन्त दुःखको कुरा हो । नागरिकले उपचारका नाममा सकसपूर्ण स्थिति बेहोर्न बाध्य भइरहनुले राज्य नागरिक प्रति गैरजिम्मेवार बनेको देखिन्छ ।

सत्ता र शक्तिको बागडोर समालेकाहरुलाई त्यो स्थितीमा पुुर्‍याउने नागरिकहरु नै आज डेंगुुको संक्रमणसँग जुधिरहँदा पनि सरकार भने सत्ता र शक्तिकै खेलमा रुमालिनु लज्जास्पद अवस्था हो । यसले आफ्ना नागरिकहरुको जीवनप्रति संवेदनशीन हुन नसक्ने सरकारको औचित्यता प्रष्ट पार्दछ । डेंगुु नियन्त्रणका लागि सरकारसँग थुप्रै विकल्पहरु छन् तर ति विकल्पहरुको प्रयोगमा सरकारले चासो नै देखाएको छैन । जसरी कोभिडका बेला तीनै तहका सरकारले जुन किसिमको प्रयास गरेका थिए । तर अहिले डेंगु नियन्त्रमा उनीहरु असक्षम नै कहलिए । सामान्यरुपमा हेर्दा पनि केवल लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानमा समेत सरकार असक्षम देखिएको छ । सरकार स्वास्थ्य जस्तो संवेदनशील विषयलाई एकातिर थन्काएर मंसिर ४ गतेको आमनिर्वाचनमा केन्द्रीत भएको छ । आवधिक निर्वाचन जनगणतन्त्रको अभिन्न अंग हो । यो समयमै हुनुुपर्छ । यसो भन्दै गर्दा स्वास्थ्यलाई वेवास्ता भने गरिनुु हुन्न । यसर्थ तीनै तहका सरकारहरु डेंगुु नियन्त्रणमा तदारुकताका साथ लाग्न जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update