इमान सिं राना
पाल्पा(रामपुर), रामपुर क्षेत्रमा कार्यरत मजदुरहरुको व्यवस्थापन गर्दै आएको पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिले मजदुरहरुलाई राहत प्रदान गरेको छ । महामारीको संक्रमणबाट बचाउन सरकारले घोषणा गरेको लकडाउनबाट प्रभावित निर्माण क्षेत्रका मजदुरहरुलाई खाद्यान्न प्रदान गरेको हो । दैनिक ज्याला मजदुरी गर्दै आएका मजदुरहरु लकडाउन पश्चात काम ठप्प भएपछि समस्या भएको भन्दै समितिमा आवद्ध मजदुर पहिचान गरी राहत वितरण गरिएको छ । समितिले दैनिक गुजारा चलाउन समस्या भएका ४ सय ६ जना मजदुरहरुलाई राहत बितरण सुरु गरेको हो । समितिले कार्यालयबाटै भिडभाड नहुने गरी बुधबार २ सय मजदुरलाई राहत सहयोग गरेको समितिका अध्यक्ष दुर्गा प्रसाद पोखरेलले बताए । बाँकी मजदुरलाई बिहिबार राहत दिने पोखरेलले जानकारी दिए । रामपुर क्षेत्रको घर तथा भवन निर्माणमा ५७ जना अगुवा मजदुर र १ हजार ५० भन्दा बढी मजदुरहरु समितिमा आवद्ध रहेका छन् । स्थानीय संगै तराई सहित विभिन्न जिल्लाका मजदुरहरु आवद्ध रहेका छन् ।
लकडाउनका समयमा काम गर्न नपाएपछी दैनिक काम गरेर खाने मजदुर र उनका परिवार समस्यामा रहेको भन्दै समितिले राहत वितरण गरेको थियो । मजदुर समितिले मजदुर राहतकोषबाट राहत प्याकेजका रुपमा प्रति मजदुर १० किलो चामल, आधा लिटर तेल र १ केजी नुन, साढे १ किलो दाल हस्तान्तरण गरेको समितिका कोषाध्यक्ष चन्द्र कुमार श्रेष्ठले जानकारी दिए । समितिमा हाल १ हजार ५० जना आवद्ध भएपनि दैनिक ज्यालामजदुरीबाटै घरखर्च चलाएर गुजारा चलाउने ४ सय ६ जनाको पहिचना गरी राहत दिएको समितिले जनाएको छ । समितिका महासचिव निलकण्ठ भण्डारीका अनुसार घरफर्कीन चाहेका बाहिर जिल्लाका केही मजदुरहरुलाई प्रशासनसंग समन्वय गरी घर पठाईएको छ ।