Shittalpati
बगनासकाली गाउँपालिका सबै स्वास्थ्य संस्थामा पिपिइ

रामचन्द्र रायमाझी
पाल्पा, कोरोना भाइरसको संक्रमण विश्वव्यापी बनेसँगै जिल्लाका स्वास्थ्य संस्थाहरुमा पीपीइ नहुँदा स्वास्थ्यकर्मीहरुले असुरक्षित महसुस गरेपछि जिल्लाका स्थानीय तहहरुले पर्सनल प्रोटेक्टिभ इक्यूप्मेन्ट(पीपीइ)अर्थात व्यक्तिगत सुरक्षाको उपकरण वितरण गर्न थालेका छन् । जिल्लाको बगनासकाली गाउँपालिकाले कोरोना भाइरस संक्रमणको उपचारलाई लक्षित गरी उपचारमा प्रयोग गरिने विशेष प्रकारको सुरक्षित पोसाक (पिपिइ) वितरण थालेको छ । स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणको उपचारमा सुरक्षित भई उपचार सेवा गर्न सहयोग पु¥याउने उद्देश्यका साथ गाउँपालिकाका ९ वटै वडाका स्वास्थ्य संस्थाहरुमा पिपिइ वितरण गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । उनका अनुसार गाउँपालिकाले आफ्नै आन्तरिक स्रोत मार्फत वडाका सबै स्वास्थ्यचौकी र एक जना एम्बुलेन्स चालकलाई पिपिइ उपलब्ध गराएको हो । कोरोना संक्रमणको उपचारका लागि गाउँपालिकामा उपलब्ध साधनस्रोतलाई अधिकतम परिचालन गरिने अध्यक्ष बस्यालले बताए ।

गाउँपालिकामा हालै विदेशबाट आएका ८० जनालाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा होम क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले जानकारी दिए । लकडाउनको गाउँपालिकामा राम्रै पालना भइरहेको उनले बताए । प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठका अनुसार एक दुई हप्ता अगाडि विदेशबाट आउने नागरिकहरुको संख्या बढ्दो रहे पनि हिजो आज भने कम भरहेको छ । गाउँपालिकाले आवश्यकताका आधारमा विदेशबाट आएका नागरिकहरुका लागि २० वेडको क्वारेन्टाइन निर्माण गरी तयारी अवस्थामा राखेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताए । उनले पिपिइ नुहँदा स्वास्थ्यकर्मीहरुलाई संक्रमण हुने डरभएकाले उनीहरुको सुरक्षा र विपदमा स्वास्थ्य सेवाको निरन्तरताका लागि वितरण गरिएका पिपिइले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

के हो त पिपिइ ?
पर्सनल प्रोटेक्टिभ इक्यूप्मेन्ट (पीपीई) अर्थात व्यक्तिगत सुरक्षाको उपकरण । पछिल्लो समय पिपिइको धेरै चर्चा भयो । यो चिज के हो भन्ने धेरैलाई चासो भयो । धेरै जटिल सामान भएको जस्तो चर्चा भएपनि यो सामान्य वस्तु हो । तर सरुवा रोगबाट बच्नको लागि नभइ नहुने कुरा हो । सम्भावित सरुवा रोग लागेका बिरामीहरुको उपचारमा संलग्न हुने बेला वा उनीहरुको स्याहार गर्ने बेला स्वास्थ्यकर्मीले आफ्नो सुरक्षाका लागि लगाउने कवच हो पीपीई जुन प्लास्टिक वा भाइरस नछिर्ने अन्य वस्तुवाट बनाइएको हुन्छ । यसमा विशेष किसिमको मास्क र चस्मालगायतका सामग्री पनि हुन्छ ।

 

प्रकाशित मिति: बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update