Shittalpati
रगतको अभाव टार्न पाल्पा प्रहरीको योगदान, ३० युनिट रगत संकलन

पाल्पा, चाडपर्वको समयमा अस्पतालहरूमा रगतको अभाव हुन नदिन पाल्पा प्रहरीले रक्तदानमार्फत मानवीय सेवामा योगदान पुर्‍याएको छ । ७१औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय पाल्पा र नेपाल रेडक्रस सोसाइटी पाल्पाको संयुक्त आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा प्रहरी कर्मचारीबाट ३० युनिट रगत संकलन भएको हो ।

दशैँको बिदा तथा चाडपर्वका समयमा नियमित रक्तदाताको संख्या घट्ने तर दुर्घटना, प्रसूति तथा अन्य जटिल स्वास्थ्य समस्याका कारण रगतको माग बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रहरीले रक्तदान गरेको थियो । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आयोजित रक्तदानमा जिल्ला प्रहरी कार्यालयका प्रमुखदेखि जुनियर अधिकृत, ट्राफिक प्रहरी तथा जवानसम्मले उत्साहपूर्वक सहभागिता जनाएका थिए । नागरिकको जीउधनको सुरक्षा गर्ने जिम्मेवारीमा रहेको प्रहरीले रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदानलाई समेत प्राथमिकता दिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दीपेन्द्र पञ्जियार थारुले बताए । 

उनका अनुसार शान्ति सुरक्षा कायम गर्नुका साथै आपत्कालीन अवस्थामा बिरामीको जीवन बचाउने कार्यमा पनि प्रहरी निरन्तर सक्रिय रहँदै आएको छ । “हामी देश र जनताको शान्ति सुरक्षाका लागि दिनरात खटिरहेका छौँ । तर, सुरक्षा प्रदान गर्नु मात्र हाम्रो दायित्व होइन, आवश्यक पर्दा नागरिकको जीवन बचाउनु पनि उत्तिकै महत्वपूर्ण जिम्मेवारी हो,” प्रहरी उपरीक्षक थारुले भने, “त्यसैले ७१औँ प्रहरी दिवसको अवसरलाई मानवीय सेवासँग जोड्दै रक्तदान गर्न मिल्ने प्रहरी कर्मचारीलाई यस अभियानमा सहभागी गराएका हौँ ।” 

रक्तदानमा महिला प्रहरीको समेत सहभागिता रहेको थियो । रक्तदान गरेकी महिला प्रहरी रमिता गौतमले अस्पतालहरूमा विशेषगरी सुत्केरी, गर्भवती तथा अन्य जटिल स्वास्थ्य समस्या भएका महिलालाई रगतको आवश्यकता बढी पर्ने भएकाले रक्तदान अभियानमा महिलाको सहभागिता बढाउनुपर्ने बताइन् । नागरिकको सुरक्षासँगै कसैको जीवन बचाउने पवित्र कार्यमा सहभागी हुन पाउँदा खुसी लागेको उनको भनाइ थियो । नेपाल रेडक्रस सोसाइटी पाल्पाका अनुसार जिल्लाका विभिन्न अस्पतालमा दैनिकजसो रगतको माग हुने गरेको छ । विशेषगरी चाडपर्वका समयमा नियमित रक्तदाताहरू अन्यत्र जाने तथा सार्वजनिक बिदाका कारण रक्तदान कार्यक्रम कम हुने हुँदा रगत व्यवस्थापन चुनौतीपूर्ण बन्ने गरेको छ । यही अवस्थालाई ध्यानमा राख्दै रेडक्रसले दशैँअघि नै विभिन्न संघसंस्थासँग समन्वय गरी रक्तदान अभियानलाई तीव्र बनाएको थियो । 

नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाका प्रमुख विनोद भारतीले चाडपर्वका समयमा समेत बिरामीले आवश्यक परेको बेला सहज रूपमा रगत पाउन सकून् भन्ने उद्देश्यले योजनाबद्ध रूपमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको बताए । उनका अनुसार रगत संकलनका लागि विभिन्न संघसंस्थासँग समन्वय गरी रक्तदानको रोस्टरसमेत तयार पारिएको थियो । पाल्पामा युनाइटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेज, पाल्पा अस्पताल, रामपुर अस्पताल र गौतम बुद्ध डायलाइसिस सेन्टरलगायतका स्वास्थ्य संस्थामा उपचाररत बिरामीका लागि नियमित रगतको आवश्यकता पर्ने गरेको छ । दुर्घटनाका घाइते, शल्यक्रिया गर्नुपर्ने बिरामी, सुत्केरी तथा मिर्गौलासम्बन्धी समस्या भएका बिरामीका लागि रगतको उपलब्धता अत्यन्त महत्वपूर्ण मानिन्छ । प्रहरी दिवसका अवसरमा संकलित ३० युनिट रगत नेपाल रेडक्रस सोसाइटी पाल्पाको ब्लड बैंकमार्फत आवश्यकताअनुसार विभिन्न अस्पतालमा उपचाररत बिरामीलाई उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । चाडपर्वमा शान्ति सुरक्षा व्यवस्थापनमा सक्रिय रहने पाल्पा प्रहरीले रक्तदानमार्फत सामाजिक उत्तरदायित्वसमेत निर्वाह गरेको छ । प्रहरी र रेडक्रसको यो सहकार्यले चाडपर्वका समयमा रगत व्यवस्थापनमा सहयोग पु¥याउनुका साथै रक्तदानप्रति समुदायमा सकारात्मक सन्देशसमेत प्रवाह गरेको छ ।


 

प्रकाशित मिति: सोमबार, कात्तिक ९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update