बुटवल, जजिरा एयरलाइन्सले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतमा दैनिक उडान सुरु गरेको छ । जजिरा शुक्रबारदेखि कुवेतमा नियमित रुपमा उडान सुरु गरेको हो । यसअघि गत जेठ २ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै उक्त एयरलाइन्सले भैरहवा–कुवेतबीच सातामा तीन उडान गर्दै आएको थियो । विमानस्थल उद्घाटन भएपछि हालसम्म अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दै आएको जजिरा एयरलाइन्स मात्र हो ।
भैरहवा–कुवेतबीच हवाई यात्रुको चाप बढ्न थालेपछि जजिरा एयरलाइन्सले नियमित रूपमा दैनिक उडान सञ्चालन गरेको हो । जजिराको ‘एयर बस ३२० निओ’ विमानले भैरहवा–कुवेतबीच हवाई उडान भर्दै आएको छ । कुवेतका लागि काठमाडौंबाट श्रम स्वीकृति लिएका नेपाली श्रमिकहरू भैरहवा पायक पर्ने भएकाले काठमाडौंको साटो भैरहवाबाट पनि उड्ने गरेका छन् । जजिराबाट काठमाडांै–कुवेतको भाडा दरभन्दा भैरहवा–कुवेतको भाडादरमा प्रतियात्रु ८ हजार रुपैयाँ सस्तो छ । भैरहवामा हवाई उडान सञ्चालन गरेबापत नेपाल नागरिक उड्यन प्राधिकरणबाट पाएको विशेष सहुलियत जजिराले यात्रुलाई प्रदान गरेका कारण यहाँबाट जाँदा हवाई भाडा सस्तो पर्न गएको हो ।