पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले स्वास्थ्य संस्थाहरुलाई मेडिकल सामग्री वितरण गरेको छ । कोभिड–१९ को संक्रमणबाट स्वास्थ्यकर्मी जोखिममा रहने भएकाले गाउँपालिकाले प्रत्येक स्वास्थ्यचौकी र इकाई स्वास्थ्यचौकीहरुलाई पिपिइ सहितका सामग्री वितरण गरेको हो । गाउँपालिकाले आफ्नै आन्तरिक स्रोत मार्फत ८ स्वास्थ्यचौकी, ४ इकाई स्वास्थ्य चौकीहरुलाई पिपिइ माक्स लगायतका मेडिकल सामग्री उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताए । साथै आपतकालिन अवस्थाका लागि दुई जना एम्बुलेन्स चालक र गाउँपालिकाको गाडी चलाउने एक जना चालकलाई समेत पिपिइ उपलब्ध गराइएको अध्यक्ष कार्कीले जानकारी दिए । उनले सामग्री वितरण गर्दै कोभिड–१९ को शंकास्पद बिरामीको परीक्षणका लागि अग्रपंतिमा रहनुपर्ने स्वास्थ्यकर्मीलाई ध्यानमा राखी सामग्री वितरण गरिएको बताए । गाउँपालिकाले कोराना शंकास्पद बिरामीको उपचारका लागि गाउँपालिकाको पुरानो भवनमा आइसोलेशन कक्षको निर्माण गर्ने तयारी गरिहेको छ ।
विदेशबाट फर्किएकाहरुको लागि गाउँपालिकाले विभिन्न स्थानमा १४ बेड सहितको क्वारेन्टाइन निर्माण गरेको छ । जहाँ ६ जना व्यक्तिहरुलाई राखिएको अध्यक्ष कार्कीले बताए । विदेशबाट आएका नागरिकहरुको तथ्याङ्क सङ्कलनलाई समेत गाउँपालिकाले तीव्रता दिइएको छ । गाउँपालिका भित्र विदेशबाट आउनेहरुको संख्या २ सय ९६ पुगेको छ । विदेशबाट फर्किनेहरुको विवरण संकलनका लागि वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मीलाई परिचालन गरिएको अध्यक्ष कार्कीले बताए । पिपिइ नुहँदा स्वास्थ्यकर्मीहरुलाई संक्रमण हुने डरभएकाले उनीहरुको सुरक्षा र विपदमा स्वास्थ्य सेवाको निरन्तरताका लागि वितरण गरिएका पिपिइले महत्वपूर्ण टेवा पुग्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेतबहादुर खत्रीले बताए ।