पाल्पा, जिल्लाका स्थानीय सरकार र सरकारी कार्यालयहरुको वार्षिक प्रगति समीक्षा गोष्ठी तानसेनमा भएको छ । जिल्ला समन्वय पाल्पाको आयोजनामा जिल्लाका दश स्थानीय तह, प्रदेश र संघीय सरकार अन्तर्गत विकास निर्माण कार्यालयहरुको वार्षिक समीक्षा गोष्ठी भएको हो । दुई दिनसम्म सञ्चालन भएको गोष्ठीमा स्थानीय सरकारका प्रमुख प्रशासकिय अधिकृत र सरकारी कार्यालयका प्रमुखहरुले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए ।
प्रगति विवरण माथि गोष्ठीमा सहभागीहरुले जिज्ञासा र टिकाटिप्पणी गरेका थिए । उनीहरुले स्थानीय सरकार र सरकारी कार्यालयहरुका योजना निर्माण र विकास निर्माणका कामहरु पारदर्शी, सुशासन र सेवाग्रहीमैत्री हुन नसकेको बताएका छन् । उनीहरुले स्थानीय सरकारहरुले शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राखिएको भने पनि लगानी र उपलब्धी न्यून रहेको बताए । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला हिमालदत्त श्रेष्ठले जिल्लाका सबै स्थानीय सरकारहरुको ध्यान कमाउने र रमाउने मै रहेकाले विकास निर्माण र सेवाप्रवाहले गति लिन नसकेको बताए । उनले स्थानीय सरकार सरकारी कार्यालयहरुले विकास र सेवाप्रवाहका विषयमा गम्भीर भएर लाग्न आग्रह गरे । नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले सरकारी निकायहरु सुशासन मैत्री बन्न नसकेको बताए । उनले जनाताको नजिकको सरकार स्थानीय सरकार भएकाले पनि जनताप्रति बढी उत्तरदायी हुन आग्रह गरे । कार्यक्रममा माओवादी केन्द्रका नेता मथुरा ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुलबहादुर कुंवर, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी, पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष भगवान भण्डारी लगायतले सरकारी निकायहरु सूचनामैत्री, पारदर्शी र सुशसानका क्षेत्रमा अब्बल बन्न आग्रह गरे । उनीहरुले सिद्धबाबा सडक सबै स्थानीय सरकारको साझा क्षेत्र भित्र पर्ने भएकाले त्यसको दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिए । गोष्ठीमा उठेका प्रश्नहरुको सम्बन्धित कार्यालयका अध्यक्ष तथा प्रमुखहरुले जवाफ दिएका थिए । गोष्ठीको बुधबार एक कार्यक्रमका बिच समापन गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि पाल्पा क्षेत्र १ का संघीय सांसद दलबहादुर रानाले सबै सरकारी निकायहरुलाई जिम्मेवारपूर्वक काम गर्न आग्रह गरे । कार्यक्रममा लुम्बिनी प्रदेश महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती, प्रदेश सांसदहरु युवराज खनाल, बसन्त घर्ती, नारायण आचार्य, नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे, माओवादी केन्द्रका नेता मथुरा ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुलबहादुर कुंवर,राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी, सहायक प्रमुख जिल्ला अधिकारी भक्तिश्वरा राना, पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मा लगायतले आ–आफ्ना धारणा राखेका थिए । गोष्ठी जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालको अध्यक्षता, उपप्रमुख काशीका ज्ञवालीको स्वागत, जिल्ला समन्वय अधिकारी जनार्दन अधिकारीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए भने शाखा अधिकृत भावना पोखरेलको सञ्चालनमा भएको थियो ।