पाल्पा, होटल व्यवसायी तथा सामाजिक व्यक्तित्व गोकर्ण रायमाझीले बुवाको वार्षिक पुण्य तिथिमा मानवसेवा आश्रमलाई सहयोग गरेका छन् । गुल्मी मुसिकोट–३ निवासी रायमाझीले आफ्ना स्वर्गिय बुबा रामबहादुर रायमाझीको सम्झनामा रुपन्देहीमा रहेको मानवसेवा आश्रमका लागि खाद्यन्न र आर्थिक सहयोग गरेका हुन् ।
रायमाझीले यहाँ रहेका ७० जना असहाय, अशक्त, वृद्ध, वृद्धाहरुका लागि एक दिनलाई पुग्ने खाद्यान्न र आर्थिक सहयोग गरेका छन् । उनले बुवाको पुण्य तिथिका दिन आश्रममै पुगेर सहयोग गरेका हुन् । मानव सेवा नै धर्म भएकाले आफुले सक्दो सहयोग गरेको रायमाझीले बताए ।
गरिब,असहाय,अशक्तहरुलाई खुसी राख्न सके मात्र पितृको सम्मान हुने भएकाले आश्रमका नागरिकहरुलाई हरेक वर्ष खाद्यान्न सहयोग गर्ने गरेको रायमाझीले बताए ।
उनी विगत ५ वर्षदेखि बुटवलमा रहेर होटल सञ्चालन गर्दै आएका छन् । रायमाझीले असहाय, अशक्तसँगै धार्मिक, सांस्कृतिक क्षेत्रको संरक्षणमा समेत सहयोग गर्दै आएका छन् । लामो समय विदेश बसी स्वदेश फर्किएका रायमाझी अहिले होटल व्यवसायीसँगै सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएका छन् । उनले खाद्यान्न सहयोग गरेपछि आश्रममा आश्रित रहेकाहरु उत्साहित भए । आफुहरुप्रति रायमाझीले देखाएको सहयोग र सद्भावले मन खुसी भएको उनीहरुले बताउँछन् ।
मानवसेवा आश्रम २०७३/७४ मा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा दर्ता भई मानवसेवा आश्रमको दशौँ जिल्ला शाखाको रुपमा विस्तार भएको हो । त्यस यता शाखाले लुम्बिनी प्रदेश केन्द्रीत भएर सडकपेटी र सार्वजनिक स्थलहरुमा रहेका सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार, परामर्श एवं पारिवारिक पुनर्मिलनको सेवा गर्दै आइरहेको छ । रुपन्देही शाखाको संरक्षणमा ७० जना विभिन्न उमेर समूहका व्यक्तिहरु आश्रित छन् भने अहिलेसम्म सयौं सडक आश्रित मानवहरुको उद्धार गरिसकेको छ ।