भैरहवा, स्थानीय तह निर्वाचनका लागि फरक–फरक रकम तोकिए पनि रुपन्देहीका अधिकांश उम्मेदवारले निर्धारित समयमा निर्वाचन आयोगमा खर्चको विवरण बुझाएका छैनन् । निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ बमोजिम निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण आयोगमा पेश गर्नुपर्ने प्रावधान छ । रुपन्देहीमा सबैभन्दा अन्तिममा मत परिणाम तिलोत्तमा नगरपालिकाको जेठ १३ गते घोषणा भएको थियो ।
सोही मितिलाई आधार मान्दा पनि असार १३ गतेभित्र जिल्लाका सबै उम्मेदवारले निर्वाचन खर्च विवरण पेश गर्नुपर्ने हो । रुपन्देहीमा रहेका पाँच हजार ११ उम्मेदवारमध्ये ५१ जनाले मात्र निर्धारित समयमा खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्याप्रसाद भण्डारीले जानकारी दिए । निर्धारित समयपछि कूल छ सय ४९ जनाले खर्च फाँटबारी बुझाए पनि त्यसको कुनै औचित्य नरहेको उनको भनाइ छ । रुपन्देहीका प्राय उम्मेदवारले आफूले निर्वाचन आयोगको यो कानूनी व्यवस्थाबारे जानकारी नरहेको प्रतिक्रिया दिएका छन् । जिल्ला समन्वय समिति प्रमुख पदमा उम्मेदवार भई विजयीसमेत भएका उमाकान्त चापाईले उक्त व्यवस्थाबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिए ।
रुपन्देही मात्र हैन धेरै स्थानीय तहमा निर्वाचन खर्च विवरण पेश नगरेका उम्मेदवारलाई आयोगले स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण दिने अधिकांश उम्मेदवारले बिरामी भएका कारण खर्च विवरण बुझाउन नपाएको खुलाएका छन् । यही भदौ १ गतेदेखि ७ गतेसम्म स्पष्टीकरण बुझाउने म्याद रहेको थियो । भदौ १ गते सूचना प्रकाशित गर्दै आयोगले उम्मेदवारी दिई तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाउने र तोकिएको अवधि समाप्त भएपछि निर्वाचन खर्चको विवरण बुझाउने उम्मेदवारलाई तोकिएको समय अवधिभित्र केकति कारणले खर्च नबुझाएको हो र खर्च विवरण नबुझाएकामा किन कारवाही गर्नु नपर्ने भनेर त्यसको स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो । सो सूचनाअनुसार जिल्लाका एक हजार छ सय २१ जनाले स्पष्टीकरण बुझाएको निर्वाचन कार्यालय प्रमुख भण्डारीले बताए । एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिका गरी १६ स्थानीय तह रहेको रुपन्देहीमा पराजित र विजयीसमेत गरी पाँच हजार ११ जनाले उम्मदवारी दिएका थिए । खर्च विवरण विजयीले मात्र नभई पराजय भएका उम्मेदवारले पनि बुझाउनुपर्ने व्यवस्था रहेको छ । –रासस