इमान सिं राना
पाल्पा (रामपुर), पाल्पाको रामपुर नगरपालिकाले अत्ति विपन्न परिवारको लागी राहत प्याकेजको घोषणा गरेको छ । कोरोना भाइरस संक्रमण फैलन नदिनका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण विपन्न परिवारको दैनिकी थप कष्टकर बनेको भन्दै नगरपालिकाले खाद्यान्न तथा औषधी सहितको राहत प्याकेज घोषण गरेको हो ।
लकडाउनका संगै रामपुर क्षेत्रका उद्योग, व्यवसाय तथा निर्माण क्षेत्रका काम थप्प रहेको छ । दिनभर काम गरेर साँझ विहानको छाक टार्दै आएका विपन्न परिवारका लागि वडाको सिफारिसको आधारमा राहत वितरण गरिने भएको छ । आम्दानीको स्रोत नभएका एकल महिला, न्यून आए भएका अशक्त, दैनिक ज्यालदारी श्रमिक, ७० वर्ष माथिमा मात्रै परिवारमा रहेका जेष्ठ नागरिक र अनाथ बालबालिकाको परिवारलाई वडाको सिफारिसका आधारमा खाद्यान्न तथा औषधी राहत वितरण गर्न लागेको हो । त्यस्तै नगरपालिकाले वडा कार्यालय मार्फत निम्न परिवारका तथ्याङ्कहरु संकलन गरी रहेको छ ।
वडाले नगरपालिकामा सोमबार बसेको विपद व्यवस्थापन समिति, विशेष समन्वय समिति, इलाका प्रशासन र सुरक्षा निकायका पदाधिकारीहरुको बैठकले सो निर्णय गरेको हो । नगरपालिकाले राहत कार्यक्रम अन्तर्गत ४ जनाको परिवारलाई प्रति परिवार १५ केजी चामल, १ लिटर खानेतेल, १ केजी चना, १ केजी दाल, २ ओटा साबुन, सिटामोल र साइनेक्स औषधी, गर्भवती तथा सुत्केरी महिलाको लागि आईरन चक्की र जिवनजलको प्याकेज बनाएको छ । ४ जना भन्दा माथिको परिवारलाई प्रति परिवार २० केजी चामल, २ लिटर खानेतेल, २ केजी चना, २ केजी दाल, ४ ओटा साबुन, सिटामोल र साइनेक्स औषधी, गर्भवती तथा सुत्केरी महिलाको लागि आईरन चक्की र जिवनजलको प्याकेज बनाएको छ । साथै बैठकले जोखिम अवस्था पनि खटिएका करारका स्वास्थ्यकर्मी, नगर प्रहरी, सवारी चालक र कर्मचारीहरुको लागि तलबको पचास प्रतिसत प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले अत्तिविपन्न परिवारको खानेपानी र विद्युत महशुलमा ५० प्रतिशत छुटको लागि अनुरोध गर्ने निर्णय गरेको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताए । नगरपालिकाको मुख्य बजार क्षेत्र र जोखिममा रहेका स्थानहरुमा किटनाशक औषधी छर्ने, सचेतनाका लागि सञ्चालन गरिएको घुम्ती सेवा यथावत राख्ने निर्णय गरेको छ । त्यस्तै रामपुर क्षेत्रमा कार्यरत मजदुरहरुको विवरण संकलन गर्ने, सवारीहरुमा सामाजिक दुरी कायम राख्न बारको व्यवस्था गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले नगर प्रमुख रमण बहादुर थापाको संयोजकत्वमा र्यापिड रेस्पोन्स टिम गठन गरेको छ । यस्तै नगर क्षेत्रमा सजताको लागि विहान ७ बजे देखि ९ बजे सम्म दैनिक उपभोग्य सामाग्रीको पसलहरु सुरक्षित उपाय अपनाएर खोल्ने निर्णय गरेको रामपुर नगरपालिकाका योजना अधिकृत कपिल बहादुर खाँणले जानकारी दिए ।