Shittalpati
बगनासकालीको निर्णय  मजदुरको व्यवस्थापनदेखि जोखिममा खटिएका कर्मचारीलाई भत्ता दिने

रामचन्द्र रायमाझी
पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिकाले दैनिक ज्यालादारीमा काम गर्दै आएका मजदुरको व्यवस्थापनदेखि कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका कर्मचारीहरुलाई प्रोत्साहन भत्ता दिने सम्मका महत्वपूर्ण निर्णय गरेको छ । गाउँपालिका भित्र रहेका दैनिक ज्याला मजदुरी गर्दै आएका मजदुरी र अतिविपन्न वर्गहरुको व्यवस्थापन गर्ने, कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका कर्मचारीहरुलाई प्रोत्साहन भत्ता दिने, विरामी जाँचका लागि अत्यावश्क स्वास्थ्य सामग्री, पिपिइको व्यवस्थापन गर्ने,बजारमा अत्यावश्यक वस्तुहरुको मूल्य सूची टाँस गर्न लगाउने,वर्तमान परिस्थतीमा कुनै पनि सभासमारोह, धार्मिक कार्य गर्नमा कडाई गर्ने,वर्तमान समयमा कोही पनि व्यक्ति विरामी भएर सिकिस्त भएमा अस्पतालसम्म पु¥याउनका लागि एम्बुलेन्सको व्यवस्था गरिदिने, कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी राखेको लकडाउनको कठाईका साथ पालना गर्ने/गराउने जस्ता महत्वपूर्ण निर्णय गाउँपालिकाले गरेको हो ।

आईतबार बसेको गाउँकार्यपालिकाको बैठकले विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणले नेपालमा जोखिम बढ्दै गएपछि सरकारले एक साताका लागि गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्दै आएका मजदुरहरुलाई जिविकोपार्जनमा समस्या पर्न थालेपछि गाउँपालिकाले उनीहरुको व्यवस्थापनका लागि वडा तहबाट लगत संकलन गरी गाउँपालिकामा पेश गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । कोरोना नियन्त्रण तथा रोकथामका लागि पूर्व सतर्कतासँगै परीक्षणमा जोखिम मोलेर गाँपालिकाका कर्मचारीहरु लागेका छन् । गाउँ गाउँमा पुगेर सचेतना जगाउनुको साथै विदेशबाट आएका नागरिकहरुको व्यवस्थापनका लागि क्वारेन्टाईन निर्माण गर्नेदेखि संम्भावित विरामीहरुको परीक्षणमा गाउँपालिकाका स्वास्थ्यकर्मी, महिला स्वयंसेवीका, कर्मचारी रातदिन खटेका छन् । उनीहरुको मनोवल उच्च बनाई थप कार्यमा लाग्न गाउँपालिकाले प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । कार्यपालिकाको बैंठकले तलव स्केलको २० प्रतिशत प्रोत्साहन रकम दिने निर्णय गरेको हो ।

त्यस्तैगरी पछिल्लो समयमा स्वास्थ्य परीक्षणमा स्वास्थ्यकर्मीका लागि समस्याको रुपमा देखिएको पिपिइ व्यवस्थापनका लागि गाउँपालिकाले आवश्यक कदम चाल्ने निर्णय गरेको छ । तत्कालका लागि १० वटा पिपिई व्यवस्था गर्ने र आवश्यक परे पुन पिपिइको व्यवस्था मिलाउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष बस्यालले जानकारी दिए । गाउँपालिकाले कुनै पनि व्यक्ति विरामी भई सिकिस्त भएमा औषधी उपचारका लागि अस्पतालसम्म लैजानका लागि एम्बुलेन्सको व्यवस्था समेत मिलाउने भएको छ । सिकिस्त विरामी भएको अवस्थामा मात्र एम्बुलेन्सको यातायात खर्च गाउँपालिकाले व्यहोर्ने गाउँपालिकाका प्रवक्ता लक्ष्मीप्रसाद अधिकारीले बताए । कोरोना त्रासको मौका छोपी बजारमा कालोबजारी हुन सक्ने भन्दै गाउँपालिकाले अत्यावश्यक वस्तुहरुको मूल्य सूची राख्न समेत व्यापारीहरुलाई आग्रह गर्ने भएको छ ।

 

यो पनि ...
कोरोना भाइरसको संक्रमण बढिरहेकाले बगनासकाली गाउँपालिकाले पनि उच्च सतर्कता अपनाइएको छ । गाउँपालिकाले कोरोना संक्रमणबाट जोगिन शंकास्पद विरामीहरुको व्यवस्था गर्ने गरी उच्च सतर्कता अपनाएका हो । संक्रमणबाट बच्न जिल्ला बाहिर तथा अन्य देशबाट फर्किएका नागरिकलाई स्थापना गरिएका हेल्थ डेस्कमा जाँच गर्ने, सेल्फ क्यारेन्टाइनमा बस्न आग्रह गर्ने, माइकिङ गरेर सन्देश प्रवाह गर्ने लगायतका काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले बताए । बाहिरबाट आएका शंकास्पद व्यक्तिहरुलाई कोरोना परीक्षणको सयमसम्म क्वारेन्टाइनमा राख्नका लागि गाउँपालिकाले वडा १ को ग्राम्य मावि र वडा ९ को चन्द्र माविमा २० वेडको क्वारेन्टाइन सेवा सञ्चालनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए । हालसम्म गाउँपालिकामा कोरोना भाइरसका शंकास्पद विरामी फेला परेका छैनन् ।

 

प्रकाशित मिति: आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update