पाल्पा, मेगा बैंक नेपाल लिमिटेड लुम्बिनी प्रदेशले अनाथ/बेसहारा बालबालिकाहरुका लागि खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत तानसेनमा रहेको अभियान नेपालको सिलोम आवसीय बाल गृहमा रहेका बालबालिकाहरुका लागि खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेको हो ।
बैंकको लुम्बिनी प्रदेशमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले आफ्नो आम्दानी मध्येको केही रकम संकलन गरेर आनाथ तथा बेसहारा बालबालिकाहरुलाई सहयोग गरेका हुन् । उनीहरुले तानसेनमा रहेको अभियान नेपालको सिलोम आवसीय बाल गृहमै पुगेर उक्त सहयोग गरेका छन् । बैंंकका लुम्बिनी प्रदेश प्रमुख विश्व पौडेल, प्रदेश बजार प्रमुख आविश्कार खनाल, प्रदेश कर्पोरेट रिलेशनसिप म्यानेजर सरोज भण्डारी, तानसेन शाखाका प्रवन्धक विष्णु प्रसाद भण्डारी सहित कर्मचारीहरुले बाल गृहमै पुगेर बालबालिकाहरुलाई खाद्यान्न तथा शैक्षिक सामग्री दिएका हुन् । बाल गृहमा रहेका बालबालिकाहरुका लागि अध्ययनमा केही भए पनि सहयोग पुग्ने उद्देश्यले विद्यालय झोला, टिफीन बक्स र पानीको बोतल सहयोग गरिएको बैंक तानसेन शाखाका प्रवन्धक विष्णु प्रसाद भण्डारीले बताए ।
यस्तै बैंकले केही दिनलाई पुग्ने चामल, दाल, तेल लगायतका खाद्यान्न सामग्री समेत सहयोग गरेको हो । बालकालिकाहरुको शैक्षिक विकासमा सानो सहयोगले केही भए पनि टेवा पुग्ने बैंकले विश्वास लिएको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत कर्मचारीहरुबाट स्वेच्छिक रुपमा रकम संकलन गरी बालबालिकाहरुलाई सहयोग गरिएको बैंक लुम्बिनी प्रदेशका प्रमुख विश्व पौडेलले बताए । मानव सेवा नै सर्वोपरी सेवा भएको भन्दै बैंकले यस्ता सहयोगी कार्यक्रमहरु निरन्तर गर्दै जाने प्रमुख पौडेलले बताए । अभियान नेपालका अध्यक्ष पून नारायण श्रेष्ठले अनाथ र बेसहारा बालबालिकाहरुका लागि बैंकले देखाएको सहयोग र सद्भाव प्रशंसनिय रहेको भन्दै धन्यवाद व्यक्त गरे । बैंकले नेपालगञ्जको मानवसेवा आश्रम, दाङको घोराहीमा रहेको नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्र, रुपन्देहीको सैनामैना र अमुवा, नवलपरासीको बर्दघाटमा समेत विभिन्न सामग्रीहरु सहयोग गरेको छ ।
बैंकले सामाजिक कार्यसँगै वित्तिय कारोबार, साक्षरता कार्यक्रमलाई समेत प्रभावकारी रुपमा अगाडि बढाउदै आएको छ । बैंकले बैकिङ्ग सेवामार्फत ग्राहकलाई सहज, सरल र प्रभावकारी रुपमा सेवा प्रदान गर्दै बैंकिङ पहुँचभन्दा बाहिर रहेका नागरिकहरूलाई सहजै बैंकको पहुँचमा ल्याउने कार्यमा महत्वपूर्ण योगदान पुर्याएको छ ।