Shittalpati
बैंकहरूले निक्षेपको ब्याजदर नबढाउने

पाल्पा, बैंकहरू तत्काल निक्षेपको ब्याजदर वृद्धि नगर्ने पक्षमा देखिएका छन् । राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयनको लागि निर्देशिका जारी गर्दै निक्षेपको ब्याजदर बढाउनुपर्ने बताए पनि बैंकहरु तत्काल व्याजदर नबढाउने पक्षमा देखिएका हुन् । नेपाल बैंकर्स संघले तत्काल निक्षेपको ब्याजदर नबढाउने बताएको छ । राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयनको लागि एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै नीतिगत दर र बैंकदर परिवर्तन भए बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्नसक्ने व्यवस्था गरेको थियो । राष्ट्र बैंकले संस्थागत प्रकृतिको मुद्दति निक्षेपको अधिकतम ब्याजदर व्यक्तिगत प्रकृतिको मुद्दति निक्षेपको अधिकतम ब्याजदर भन्दा दुई प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था गरेको छ ।

यसअघि १ प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्थामा राष्ट्र बैंकले संशोधन गरेपछि बैंकर्स संघले शुक्रबार बिहान पूर्ण बैठक बोलाएको थियो । बैठकमा राष्ट्र बैंकको निर्देशनअनुसार भदौको लागि ब्याजदर प्रकाशित गर्दा संस्थागत मुद्दति निक्षेपको ब्याजदर समायोजन गर्ने र अन्य ब्याजदरलाई निरन्तरता दिने सहमति भएको हो । यस अनुसार अबको साउन महिना भरका लागि अहिलेको ब्याजदर नै यथावत् रहने छ भने त्यसपछि बजारको अवस्था हेरेर मात्रै थप निर्णय गर्ने संघले जनाएको छ । हाल साधारण मुद्दति निक्षेपको ब्याजदर ११ दशमलव शून्य तीन प्रतिशत र संस्थागतको ब्याजदर १० दशमलव शून्य तीन प्रतिशत छ ।

संस्थागत निक्षेपकर्ताहरूले व्यक्तिगतले पाउनेभन्दा दुई प्रतिशत कम ब्याज पाउने भएपछि बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाउनुपर्ने बाध्यता परेको छ । राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयन गर्नेक्रममा एकीकृत निर्देशन संशोधन गर्दै जारी गरेको नयाँ व्यवस्थाका अनुसार बोलकबोल लगायत संस्थागत मुद्दति निक्षेपसमा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दति निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा दुई प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था गरेको छ । बैंकहरूले यसरी संस्थागत निक्षेपकर्तालाई दिने ब्याजदरमा प्रकाशित दरभन्दा ०.५ प्रतिशत बढी दिन सकिने व्यवस्था गरे पनि यसले ब्याजदर बढाउन नै प्रेरित गरेको बैंकहरुले जनाएका छन् ।

प्रकाशित मिति: आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update