Shittalpati
इस्माका टोल–टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता

गुल्मी, जिल्लाको इस्मा गाउँपालिकाले टोल–टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । पालिकावासीलाई बैंकसम्म जान समस्या परेको जनाउँदै पालिकाले टोलमा पुगेर सो भत्ता वितरण गर्न थालेको हो ।
पालिकाले अहिले टोलमै पुगेर जेष्ठ नागरिक, एकल महिला, विधवा, अपाङ्गता भएकाहरुलाई भत्ता उपलब्ध गराउन थालेको छ । जेष्ठ नागरिक तथा अपाङ्गता भएकालाई गाउँ–गाउँबाट बजारमा रहेको बैंकसम्म आउन निकै समस्या भएकाले टोलमै लगेर भत्ता उपलब्ध गराइएको पालिकाले जनाएको छ । स्थानीय तहको निर्वाचनमा घरछेउमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रतिवद्धता जनाएका इस्मा गाउँपालिकाका जनप्रतिनिधीले आफुले बोलेका बाचा पुरा गर्न टोल टोलमा भत्ता अभियान सञ्चालन गरेका हुन् । सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरण गरिदाँ वृद्ध तथा जेष्ठ नागरिकलाई समस्या हुँदै आएको थियो । तर अहिले पालिकाले टोल–टोलमा पुगेर भत्ता दिन थालेपछि भने त्यो समस्या हटेको छ । एक/दुई दिन लगाएर बैंक पुगी लाइन बसेर सामाजिक सुरक्षा भत्ता बुझ्दा खर्चसँगै समय र सास्ती खेप्नु पर्ने अवस्थाको अन्त्य हुँदा जेष्ठ नागरिक उत्साहित भएका छन् । पालिकाले टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछी स्थानीय उत्साहित भएको गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए । ग्रामीण भेगबाट बैंकसम्म पुग्नुपर्ने, बैंकमा पुगेर लाइन बस्नुपर्ने समस्या हट्नुका साथै गाडी भाडासमेत बचत भएको उनले बताए । सामाजिक सुरक्षा भत्ता लिएर टोल–टोलमा पुग्दा यहाँका नागरिक एकातर्फ खुसी भएका छन् भने अर्कातर्फ उनीहरुको कुरा, गुनासो, सुझाव प्रत्यक्ष सुन्न र कार्यान्वयनमा लैजानका लागि हामी जनप्रतिनिधिलाई पनि सहज हुने अध्यक्ष खड्काको भनाइ छ । दश वर्ष अघिदेखि सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका इस्मा गाउँपालिका ५ का ८२ वर्षीय मनिराम भण्डारीले टोलमै भत्तन बुझ्ना पाउँदा धेरै राहत मिलेको बताए । उनले पहिले भत्ता लिनको लागि बैंकमा जानु पथ्र्यो तर अहिले बैंकमा जानुपर्ने बाध्यता अन्त्य भएकोमा खुसी व्यक्त गरे । उनले जेष्ठ नागरिकहरुका लागि वितरण गरिने सामाजिक सुरक्षा भत्ता टोल–टोलमै पुगी उपलब्ध गराउने सुरुवात गरेकोमा जनप्रनिधिलाई धन्यवाद दिए । पहिलोपटक वृद्धभत्ता बुझ्न टोलमा पुगेकी नमकला बोहोराले पनि घरदैलोमा आएर भत्ता पाउँदा निकै खुसी लागेको बताइन् । उनले वृद्ध भत्ता बुझे पनि नुन, तेल, चिनी चिया किन्ने बताइन् । पहिले इस्मा मैदान जाँदा एक हजारसम्म खर्च गर्नुपर्ने बाध्यता भएको उनले बताइन् । गाउँपालिकाले पालिका भित्र पर्ने ६ वटै वडाको टोल–टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । गाउँपालिकाको स्थानीयलाई पायक पर्ने विभिन्न १८ स्थानबाट १ हजार २ सय बढीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवरले बताइन् । जस अनुसार वडा १ को हर्पुकोटमा १ सय ९० जना, वडा २ को छल्दीबाट २ सय ७२ जना, वडा ३ को दर्लामचौरबाट १ सय ८१ जना, वडा ४ को दोहोलीबाट २ सय ३४ जना, वडा ५ इस्मा रजस्थलबाट ६२ जना र वडा ६ अम्मरपुरबाट २ सय ९४ जना गरी १ हजार २ सय ३२ जनाले लाभ लिएको उपाध्यक्ष कुँवरले बताइन् ।

प्रकाशित मिति: शनिबार, साउन २१, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update