इमान सिं राना
पाल्पा रामपुर, ग्रामीण जागरण युवा समाज रामपुर ७ पाल्पाले क्वारेन्टाइन सञ्चालनको लागि नगद सहित खाद्यान्न सहयोग गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको सम्भावित संक्रमणबाट जोगाउन बालकल्याण प्राथमिक विद्यालय रामपुर ५ सानीअमराईमा रहेको क्वारेन्टाईन सञ्चालनको लागि समाजले सहयोग गरेको हो । समाजले शनिबार दाल, चामल, तरकारी, दुध, अण्डा, तेल, फलफुल लगाएतका खाद्यान्न र नगद ११ हजार ७ सय सहित ३१ हजार ५ सय बराबरको सहयोग गरेको उपाध्यक्ष दुर्गा प्रसाद भट्टराईले जानकारी दिए ।
समाजका अध्यक्ष मनोरथ भट्टराईले समाजका सदस्य, सामाजिक व्यक्तित्वहरुबाट प्राप्त खाद्यान्न तथा रकम सहयोग गरिएको बताए । उनले महामारीले त्रसित बनाई रहेको समयमा केही राहत होस् भन्ने उद्देश्यले सहयोग गरिएको बताएका थिए । खाद्यान्न सामग्री ग्रहण गर्दै रामपुर नगरपालिका वडा नं। ५ का वडा अध्यक्ष हिमाल मल्लले दाताहरुलाई धन्यवाद दिए । उनले क्वारेन्टाईनमा रहेका नागरिकहरुलाई शनिबार विहानसम्म होटेलबाट खानाको व्यवस्था गरे पनि अहिले होटेल पाउनै मुस्किल भएको बताए । उनले क्वाारेन्टाईनमा रहेका सबैलाई विद्यालय मै खाना बनाएर खुवाउने तयारी गरिएको भन्दै यसले थप सहयोग हुने बताए । क्वारेन्टाइनमा केही दिन अघि भारतबाट फर्किएका ९ जनालाई राखिएको छ ।