Shittalpati
पाल्पाका व्यापारीलाई अत्यावश्यक वस्तुहरुको मौज्दात राख्न निर्देशन

कृष्ण पोखरेल
तानसेन,अत्यावश्यक सेवा तथा वस्तु आपूर्ती समिति पाल्पाले सम्वन्धित व्यवसायीहरुलाई कम्तीमा १५ दिनको सरसमान मौज्दात राख्न निर्देशन गरेको छ । समितिको शनिवार बसेको बैठकले खाद्यान्न, औषधी, ग्यास तथा पेट्रोलियम पदार्थ १५ दिनका लागि मौज्दात राख्ने प्रक्रिया मिलाउन व्यवसायी तथा सेवा प्रदायक संस्थाहरुलाई निर्देशन गरेको हो ।

अत्यावश्यक सरसमानका लागि जिल्ला बाहिर प्रशासनले पास उपलब्ध गराउने र जिल्ला भित्र खरिद विलको आधारमा सवारी साधन चल्न दिने, खाना पकाउने ग्याँसको व्यवस्थापन गर्न सकिएको सिलिण्डर ल्याएपछि मात्र ग्यास भरेको सिलिण्डर दिने जस्ता निर्णय गरेको समितिका संयोजक जिल्ला समन्वय अधिकारी लेखनाथ ज्ञवालीले बताए । सरसमान खरिद विक्रि गर्दा भिडभाड नगर्न , भिडभाड भएमा प्रहरीलाई खबर गर्न समितिले विक्रेतालाई अनुरोध गरेको छ । सरकारले लकडाउन समयावधी बढाउने संकेत गरिरहेकाले जिल्लामा अत्यावश्यक सरसामग्रीहरुको अभाव नहोस् भनी समितिले व्यापारी तथा सम्वन्धित संघ संस्थाहरुलाई १५ दिनसम्मको सरसमान मौज्दात राख्न आग्रह गरेको हो ।

प्रकाशित मिति: शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update