लुम्बिनी, बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० का लागि करका दरमा हेरफेर गरेको छ । आव २०७९/८० का लागि स्वीकृत आर्थिक ऐन, २०७९ अनुसार सम्पत्ति, घरबहाल, इरिक्सा, हाटबजार करलगायतमा हेरफेर गरी साउन १ गतेदेखि लागू भएका छन् ।
उपमहानगरपालिकाले यसअघि लागू गरेको सम्पत्ति र घरबहाल कर १० प्रतिशतले घटाएको छ । सम्पत्ति कर सम्पत्तिको मूल्यअनुसार एक सयदेखि ४९ हजार ५ सयसम्म कायम गरिएको छ । यस्तै पाँच लाखसम्म करयोग्य सम्पत्ति भएमा एक सय र पाँच करोडदेखि माथि भएमा प्रतिहजारको दुईका दरले सम्पत्ति कर तिनुपर्नेछ । यस्तै, इरिक्सा व्यवसायीले यसअघि रुट परमिट र नवीकरण बापत पाँच सयका दरले एक हजार तिर्दै आएकामा चालु आर्थिक वर्षमा तीन सयका दरले ६ सय बुझाउनुपर्ने बुटवल उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख दामोदर ज्ञवालीले जानकारी दिए । यस्तै, महिला, अल्पसंख्यक र अपा·ता भएका व्यक्तिले सञ्चालन गरेका व्यवसायका लागि लाग्ने व्यवसाय करमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । त्यसैगरी सडक विस्तारका कारण व्यवसाय सञ्चालनमा कठिनाइ बेहोरेका चौराहादेखि गोलपार्कसम्मका राजमार्गमा मोहडा भएका व्यवसायीले ३५ प्रतिशत कर छुट पाउने व्यवस्था मिलाइएको उपमहानगरपालिकाले जानाएको छ । नागरिकता, अपाङ्गता, ज्येष्ठ नागरिक परिचयपत्र सहित १३ प्रकारका सिफारिस दस्तुर निःशुल्क गरिने व्यवस्था मिलाइएको ज्ञवालीले जानकारी दिए । बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ६० करोड राजस्व संकलनको लक्ष्य लिएको छ । नागरिकमाथिको करको भार घटाएर दायरा बढाउने गरी करका दरमा हेरफेर गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । उनले राजस्व परामर्श समितिको सिफारिस अनुसार चालु आर्थिक वर्षको राजस्व संकलनको प्रक्षेपण गरिएको बताए । यसअघि ७१ करोड २५ लाख राजस्व संकलनको लक्ष्य लिइएकामा ५३ करोड संकलन भएको राजस्व शाखा प्रमुख ज्ञवालीले जानकारी दिए । –रासस