Shittalpati
एसईईको नतिजा खल्तीबाट निःशुल्क

पाल्पा,  ‘खल्ती’ ले एसईईको नतिजा निःशुल्क हेर्न सकिने व्यवस्था मिलाएको छ । डिजिटल वालेटले विद्यार्थीहरुको नतिजा हेर्ने प्रक्रियालाई सरल बनाउने उद्देश्यले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयसँग सहकार्य गरी नतिजा निःशुल्क हेर्ने व्यवस्था मिलाएको हो । यस सहकार्यसँगै अब एसईई दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थी र अभिभावकहरुले सजिलै र निःशुल्क रुपमा खल्ती एपमार्फत् नतिजा हेर्न सक्ने छन् ।

नतिजा हेर्नका निमित्त प्रयोगकर्ताले खल्ती एपमा गई एसईई रिजल्टमा ट्याप गरी आफ्नो सिम्बोल नम्बर र जन्ममिति राख्नुपर्ने कम्पनीले जनाएको छ । राखिएको सबै विवरण ठीक भएमा एसईईको नतिजा तुरुन्तै उपलब्ध हुने र यसरी खल्तीबाट नतिजा हेर्न कुनै पनि शुल्क नलाग्ने कम्पनीको भनाइ छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले यही साता भित्र एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । साउन पहिलो हप्ता नतिजा प्रकाशित गर्ने लक्ष्य लिए पनि रुजुको काम नसकिएकाले दोस्रो हप्ता धकेलिएको हो । मंगलबारसम्म रुजु सकेर बोर्डको बैठक डाक्ने आन्तरिक तयारी रहेको स्रोतले जनाएको छ । बोर्डको बैठकले रुजु र तयारीका विषयमा जानकारीसहित विविध कारणले रद्द गर्नुपर्ने परीक्षार्थीको विषयमा निर्णय लिनेछ । त्यसपछि दोस्रो बैठक बसेर नतिजा सार्वजनिकको निर्णय हुन्छ । शुक्रबारसम्म नतिजा सार्वजनिक गरिने स्रोतले जनाएको छ । विगतका वर्षमा विद्यार्थीको सिम्बोल नम्बर, जन्ममिति, नामथर लगायत विवरणमा धेरै त्रुटि भएर उनीहरुले सच्याउन दुःख पाउने गरेकाले नतिजाअघि नै अधिकतम जाँच गर्न लागिएको बोर्डले जनाएको छ । ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले यो वर्ष देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका छन् । त्यसमध्ये जापानको १ परीक्षा केन्द्रबाट २० जना विद्यार्थीले एसईई दिएका छन् । वैशाख ९ गतेदेखि सुरु भएको परीक्षामा ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए ।

प्रकाशित मिति: बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update