Shittalpati
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपालमा घटेन

पाल्पा, भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपालमा मूल्य घटेको छैन । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)बाट नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको मूल्य घटेर आएको भए पनि नेपालमा यथावत् राखिएको छ । भारतबाट शनिबार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको छ । तर नेपाल आयल निगमले भने आइतबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् राखिएको जनाएको छ ।

अझै पनि पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ १९ पैसा र डिजेलमा २१ रुपैयाँ ९२ पैसा घाटा रहेकाले मूल्य नघटाइएको निगमले जनाएको छ । नोक्सानी बढेकै कारण आयल निगमले हाल आईओसीलाई ३१ अर्ब २० करोड रुपैयाँ तिर्न बाँकी छ । सो ऋण रकम तिर्न निगमले वाणिज्य बैंक र सरकारबाट करिब १० अर्ब ऋण लिँदैछ । हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय डलर आसपासमा झरेको छ । एक महिनाअघि प्रतिब्यारेल १ सय २० डलरभन्दा माथि थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै निगमलाई केही राहत मिलेको छ । हाल पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८१ रुपैयाँ, डिजेल तथा मट्टितेलको १ सय ७२ रुपैयाँ छ ।

निगम घाटामा गएपछि सरकारले सात अर्ब रुपैयाँ ऋण लगानी गर्ने निर्णय गरेको छ । पेट्रोलियम पदार्थको मूल्य समायोजन हुँदा आयल निगमले इण्डियन आयल कर्पोरेशन लिमिटेडलाई भुक्तानी दिन रकम अपूग भएकाले अर्थ मन्त्रालयले ७ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएको हो । त्यस्तै सरकारले पेट्रोलियम पदार्थमा पूर्वाधार करवापत मूल्य समायोजन भएको रकम ५९ करोड ८६ लाख रुपैयाँ अनुदान स्वरूप नेपाल आयल निगमलाई उपलब्ध गराउने पनि निर्णय गरेको छ ।

प्रकाशित मिति: सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update